गत शनिबार (असार ९) को साँझ नेपाल फिल्म क्यापसको अडोटोरियममा भेला भएका स्रोता तथा साहित्यकारहरु अधैर्य थिए । उक्त अधैर्यका कारण थिए भारतको पद्मश्री पुरस्कार प्राप्त लोककवि हलदर नाग ।

विश्वका १ सय १ देशमा २ सय ९७ कविका कविताहरुको सङ्ग्रह ‘म्याडनेस : एन एन्थोलोजी अफ वल्ड पोएट्री’को विमोचनको प्रमुख आकर्षणका रुपमा कवि हलदर नागको उपस्थिति रहेको थियो ।

पुस्तक विमोचन कार्यक्रमको आकर्षण हलदर नाग त थिए नै, साथै उनको विशेष कविता वाचन पनि जोडिएको थियो । पुस्तक विमोचनपछि नागले कविता वाचनमार्फत स्रोताहरुलाई मन्त्रमुग्ध बनाएका थिए । आफ्ना सबै कविताहरु कठस्थ सुनाउन सक्ने नागको क्षमता स्रोताहरुलाई कायल बनाउन काफी थियो ।

सन् २०१६ मा नागले सम्बलपुरी भाषामा गरेको योगदानको लागि भारतका १३ औं राष्ट्रपति प्रणव मुखर्जीबाट भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री पनि प्राप्त गरेका थिए । राष्ट्रपति प्रणव मुखर्जीबाट ‘पद्मश्री पुरस्कार’ लिन उनी नाङ्गो खुट्टा आएका थिए । कारण खाली खुट्टा हिँड्नु नै उनकाे ब्राण्ड हाे । काठमाडाैं पनि उनी खाली खुट्टा नै आइपुगेका हुन् ।

कवि केशव सिग्देलद्वारा सम्पादित ‘म्याडनेस’ कविताकृतिमा नेपालका २७ कविहरुका कवितादेखि नोबेल पुरस्कार विजेता कविहरुका कविता सङ्ग्रहित छन् ।

को हुन् हलदर नाग ?

हलदर नाग  सम्बलपुरी  (जसलाइ काेसल भाषा पनि भनिन्छ) का  प्रख्यात कवि हुन् । उनलाई प्रेमपूर्वक  लोककवि रत्न पनि भनिन्छ। नागको जन्म मार्च ३१, १९५० मा उडिसाको बरगढ जिल्लाको घेन्सको गरिब परिवारमा भएको थियो । उनी दस वर्षको हुँदा उनको बुबाको मृत्यु भयो । सानै उमेरमा बुबा बितेका कारण उनको काँधमा सिङ्गो पारिवारिक हेरचाहको जिम्मेवारी आइपर्यो । सानैमा बुबा बितेको कारण उनले तीन कक्षापछि विद्यालय छोड्नुपर्यो । बाँकी उनले स्वअध्ययनमै आफ्नाे बुद्धि तिखारेका थिए ।

हलदर नागका पुर्खा  बैदपाली गाउँका थिए । सन् १९४८ मा  त्यो गाउँमा अचानक  महामारी फैलियाे । केही दिनमा सयौंको ज्यान गयो । गाउँलाई मृत्युले वरपरबाट घेरेपछि भने आफ्नी श्रीमती गुरबारी नागलाई मृत्युबाट बचाउन  कविका पिताजी भज नागले  ८ घन्टा लामाे पैदल दूरीमा रहेकाे घेन्स भन्ने स्थानमा रहेकाे ससुराली पठाए ।  रातभरि हिँडेर  गुरबरी घेन्स पुगिन् ।   सन् १९५० मा हलधर नागको जन्म त्यही घेन्समा रहेकाे मामाघरमा भएको थियो । नाग दस वर्षका हुँदा बुबाकाे मृत्यु त्यहीँ ससुरालीमा भयाे ।  त्यसकाे एक वर्षभित्रै उनकी आमाको पनि पक्षघातबाट निधन भयो । कलिलाे उमेरमा उनलाई अनाथको रूपमा एक्लै छोडियो, त्यसैले उनको जीवन पूर्णरूपमा गरिब मामाघरमा बितेको थियो ।

सन् १९९० मा हलदर नागले आफ्नो पहिलो कविता ‘धोधो बर्गाजी’ (पुरानो बन्यान) नामक पहिलो कविता  छापाए । त्याे कविता स्थानीय पत्रिकाले प्रकाशित गरेको थियो । याे कविताले निकै चर्चा पायाे ।  त्यसपछि स्थानीय पत्रिकाहरूले हलधरका कविताहरू खाेजीखाेजी छाप्न थाले । हलधरको कवितालाई मानिसहरूले यति मन पराए कि उनलाई “लोक कविरत्न” भन्न थाले । त्यसपछि उनको लेखनको प्रक्रिया झन् तीव्र रूपमा सुरु भयो । उनको लेखन यात्रा आजसम्म जारी छ ।

हलदर नाग निकै साधारण जीवन बिताउँछन् । उनको विचार जति उच्च छ उनको जीवन पनि उत्तिकै सरल छ । उनले निकै सादा जीवन बिताइरहेका छन् । उनी चप्पल किन्न नसक्ने व्यक्ति हाेइनन् तर उनले खुट्टामा चप्पल लगाउँदैनन् । उनी सेतो धोती र  कुर्तामा रमाउँछन् । उनी आज सबैका लागि प्रेरणाको स्रोतभन्दा कम छैनन् । समय जस्तोसुकै किन नहोस्, आफ्नो भित्री प्रतिभालाई चिन्न सक्नु भयो भने एक दिन अवश्य प्रसिद्धिको चुचुरोमा पुग्नुहुनेछ ।  उनी समाजमा लुकेका विकृतिलाई आफ्नो लेखनबाट हटाएर राम्रो समाज निर्माण गर्न चाहन्छन् ।

२२ वर्षको उमेरमा हलदरले पार्वती नामक युवतीसँग विवाह गरे । पार्वती लामो समयदेखि बिरामी थिइन् र लामो समयसम्मको बिमारीकै कारण उनले सन्तान जन्माउन सकिनन् । आफूले सन्तान जन्माउन नसकेपछि उनले हलधरलाई अर्को केटीसँग विवाह गर्न बाध्य पारिन्। हलधर नागको विवाहको लागि उनी आफैंले मौलाभर (अभिभावकले बाेक्ने भाँडाे)  बोकेकी थिइन् । यो एक उडिया अनुष्ठान हो, जहाँ विवाह समारोहमा दुलहाको मामाले काँधमा विभिन्न वस्तुहरू बोक्नुपर्छ ।

सन् १९७६ मा हलदर नागको दोस्रो विवाह सफलतापूर्वक सम्पन्न भयो । विवाहपछि श्रीमान् र साैताकाे जीवन सुखमय हाेस् भनेर  पार्वती स्वेच्छाले आफ्नो माइती गएकी थिइन् । हलधरले मालतीसँग नयाँ जीवन सुरु गरे।  अर्को वर्ष नाग दम्पतिले एउटी छोरी जन्माए ।

हलदर नाग दलित परिवारमा जन्मेका थिए ।  छुवाछुतको तत्कालीन कानुनले उनी हुनसम्मको पीडित भएका थिए । उनको अचियन शीर्षकको कवितामा छुवाछुतको सशक्त भाव झल्किन्छ । कवितामा रामायणको एक श्रृङ्खलालाई विस्तृतीकरण गरिएकाे छ । त्यहाँ शबरी नामक वनवासीले छोएको फल भगवान रामले कसरी ग्रहण गरे तर  एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हामी हिन्दूहरू तल्लो जातका मानिसहरूको घरमा पस्दैनौं । याे कविता निकै चर्चित भयाे ।

हिन्दू धार्मिक ग्रन्थहरूमा आधारित उनका सतिया बिहा, तारा मन्दोदरी, करम सानी, आदि धेरै कृतिहरू  उच्चकाेटिका मानिन्छन् । धार्मिक ग्रन्थहरूबाहेक उनले सन्त कवि भीमा भोई, गंगाधर मेहर वीर सुरेन्द्र साई आदिमा पनि कविता रचना गरे । नागको सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनले २० वटा महाकाव्यहरू बाहेक उनले अहिलेसम्म लेखेका सबै कविताहरू सम्झन्छन् । उनले एकपटक लेखेको कविता उनले कहिल्यै बिर्सँदैनन् ।

नागका कविताहरूको विषयवस्तु प्रायः प्रकृति, समाज, पौराणिक कथा र धर्ममा आधारित छन् । उनका लेखहरूको संकलन ‘हलधर ग्रन्थवाली-२’ लाई पनि ओडिशाको ‘सम्बलपुर युनिभर्सिटी’ मा पाठ्यक्रमको हिस्सा बनाइएको छ ।

सन् २०१६ मा उनले सम्बलपुरी भाषामा गरेको योगदानको लागि भारतका १३ औं राष्ट्रपति प्रणव मुखर्जीबाट भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री पनि प्राप्त गरेका हुन् । राष्ट्रपति प्रणव मुखर्जीबाट ‘पद्मश्री पुरस्कार’ लिन उनी नाङ्गो खुट्टा आएका थिए । कारण खाली खुट्टा हिँड्नु नै उनकाे ब्राण्ड हाे । त्याेबेला उनको आङमा एउता सेतो धोती, भेस्ट र गम्छा थियो । उनले ६६ वर्षको उमेरमा पद्मश्री पुरस्कार प्राप्त गरेका थिए ।