चितवन / लेखक दिलिप बान्तावाको कथासंग्रह ‘ताल्चा’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करिब डेढ वर्षअघि प्रकाशनमा आएको यस पुस्तकमाथि चितवनमा अन्तरक्रिया गरिएको हो ।

‘सम्पूर्ण किताब नारायणगढ’को आयोजनामा असार ८ गते शुक्रबार साँझ नारायणी रिसोर्ट गैँडाकोटमा सम्पन्न उक्त कार्यक्रममा विश्लेषक सरिता तिवारी, उदय अधिकारी र पाठकको तर्फबाट माया गुरुङले पुस्तकका कथामाथि टिप्पणी गर्नुभएको थियो ।

विश्लेषक तिवारीले बान्तावाको उमेर सानो तर पहिलो संग्रहमै परिपक्कता देखिएको बताउनुभयो। ‘लेखकको उमेर सानो छ तर परिपक्वता ज्यादा देखिन्छ,’ उहाँले भन्नुभयो, ‘बान्तावाले प्रयोग गरेका भाषा र बिम्ब उच्चस्तरको छ ।’ तर, कतिपय ठाउँमा कथाकार अलि हतारिएको पनि उहाँले टिप्पणी गर्नुभयो।

बान्तावा रोजगारीको सिलसिलामा कोरियामा हुनुहुन्छ । कोरियाबाटै कथासंग्रह पाठकमाझ ल्याउनु भएका बान्तावाले कविता पनि लेख्ने गर्नुहुन्छ ।

अर्का टिप्पणीकार रहेका समालोचक, लेखक उदय अधिकारीले अब कोरियामा पनि नेपाली साहित्यको उपस्थिति रहेको बताउनुभयो । ‘युरोप, अमेरिका, अष्ट्रेलिया लगायत ठाउँबाट निरन्तर अघि बढिरहेको नेपाली साहित्य अब कोरियामा पनि बलियो उपस्थिति हुनेछ,’ अधिकारीले भन्नुभयो ।

दुवै समालोचकले बान्तावालाई गुरूप्रसाद मैनालीको उत्तराधिकारी जस्तो लागेको समेत बताउनुभयो ।

पाठकीय टिप्पणी मार्फत प्रतिक्रिया दिँदै माया गुरुङले ताल्चाका कथाहरू आफूलाई राम्रो लागेको बताउनुभयो । केही कथामा कथाकार हतारिएको आफूलाई पनि अनुभूत भएको उहाँको भनाइ थियो । कुनै कथाको “अन्त्य”मा कथाकार अल्मलिएको हो कि विरोधाभास खडा गर्न खोजेको भन्नेमा आफू अल्मलमा परेको उहाँले प्रतिक्रिया दिनुभयो ।

यस्तै, युवा आख्यानकार रमेश सायनले ताल्चाका केही कथामा दक्षिण कोरियाको माटो पोतिएको बताउनुभयो । कथाकार बान्तवा र आफू सँगसँगै कोरियामा बसेको र कतिपय कथामा त्यहीँको दैनिकी बुनिएको सायनको भनाइ थियो ।

विभिन्न साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्पूर्ण किताब नारायणगढका संचालक लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।