काठमाडौँ, असार ९ / युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ‘पुष्प’लाई “हेमलता स्मृति लघुकथा सम्मान-२०८०” प्रदान गरिएको छ । पाँचौँ वार्षिकोत्सवको अवसर पारेर नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मान उहाँहरूलाई प्रदान गरेको हो ।

कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथा विशेष कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रदान गर्ने गरेको मञ्चले जनाएको छ ।

एकजना महिला र एकजना पुरुष युवा लघुकथाकार छनोट गरेर मञ्चले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको जनाइएको छ । यो सम्मानबाट गतवर्ष युवा लघुकथाकारद्वय वसन्त अनुभव र नानी विभु सम्मानित हुनुभएको थियो ।

को हुनुहुन्छ अनु विज्ञाति ?
बुबा कृष्णप्रसाद भट्टराई र आमा केन्द्रमाया पौडेल ( खिमा भट्टराई ) का तीन सन्तानहरूमध्ये पहिलो सन्तानको रूपमा वि.सं. २०४३ साल असोज ३० ( शैक्षिक प्रमाणपत्र र नागरिकतामा वि.सं.२०४३ वैशाख ०२ ) गते आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५, चाँगे, ताप्लेजुङ ( साविक चाँगे गा.वि.स. वडा नं.-३, ताप्लेजुङ ) जिल्लामा जन्मनु भएकी अनु विज्ञातिको वास्तविक नाम तारा भट्टराई हो ।

सरकारी सेवामा विगत १३ वर्षदेखि कार्यरत उहाँ अधिकृतस्तर छैटौँ तहको पदमा, बेलबारी नगरपालिका बेलबारी, मोरङमा विगत ५ वर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँको स्थायी बसोबास/ठेगाना कोशी प्रदेश, सुन्दरहरैँचा नगरपालिका वडा नं. १२, अग्रणी मार्ग, रोड नं.११, विराटचोक, मोरङ रहेको छ भने हाल उहाँ श्रीमान् विश्वविश्रुत विकास (देवराज न्यौपाने ) र एक मात्र सन्तान छोरा अविराज न्यौपानेसँग सोही स्थानमा बस्दै आउनुभएको छ ।

कानुनमा स्नातक तथा जनप्रशासनमा स्नातकोत्तर गर्नु भएकी उहाँको लघुकथा लेखन यात्रा वि.सं.२०७७ साल जनैपूर्णिमा ( वि.सं.२०७७ साल श्रावण १९ गते ) देखि ‘फेर्ने कि लगाउने’ शीर्षकको लघुकथाबाट भएको हो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक, समसामयिक विकृति, विसङ्गती विरुद्ध व्यङ्ग्य प्रहार गर्दै थुप्रै लघुकथाहरू लेखिसक्नु भएको छ । उहाँ नमस्ते आधुनिक लघुकथा मञ्चकी एक आधिकारिक लघुकथा वाचक पनि हुनुहुन्छ । उहाँले नेपाली समाजमा व्याप्त लैङ्गिक, जातीय, शैक्षिक, राजनीतिक, सामाजिक, सांस्कृतिक आदि विभेद तथा समाजका अनेक विषयमा सशक्त रूपमा कलम चलाउँदै आउनुभएकी उहाँको लघुकथा कृति प्रकाशन हुने क्रममा रहेको छ । विभिन्न साहित्यिक पत्रपत्रिका, विद्युतीय पत्रपत्रिकाहरू तथा संयुक्तसङ्ग्रहहरूमा उहाँका लघुकथाहरूका साथै कथा, मुक्तक, कविता, गीत, गजल ( बहर; बेबहर/स्वतन्त्र), निबन्ध, संस्मरण/नियात्रा रचनाहरू पनि प्रकाशित हुँदै आएका छन् ।

को हुनुहुन्छ अनुग्रह राना मगर ‘पुष्प’ ?
बुबा रुद्र बहादुर राना मगर र आमा बिष्णुमाया राना मगरका तीन सन्ताहरू मध्ये जेठो सन्तानको रूपमा वि. सं. २०४१ साल श्रावण ०२ गते पाँचखपन नगरपालिका-६, सङ्खुवासभा ( सखुवा मगर गाउँ, वाना गा.वि.स., सङ्खुवासभा ) जिल्लामा जन्मनु भएका उहाँको साहित्यिक नाम अनुग्रह राना मगर ‘पुष्प’ हो । उहाँको वास्तविक नाम पुष्प बहादुर राना मगर हो ।

उहाँ हाल लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत हुनुहुन्छ । उहाँको स्थायी बसोबास, पाँचखपन नगरपालिका – ६, सखुवा मगर गाउँमा रहेको छ भने हाल अस्थायी रूपमा उहाँ श्रीमती र एक छोरा सहित उर्लाबारी मोरङमा बस्दै आउनु भएको छ । उहाँको शिक्षा उच्च माध्यमिकसम्म रहेको छ । उहाँ विभिन्न साहित्यिक संस्थामा आजीवन सदस्य पनि रहनु भएको छ । उहाँ स्कुले जीवन देखिनै साहित्यलाई उल्का मन पराउनु हुन्थ्यो । विभिन्न पत्रपत्रिकामा उहाँको पहिलो नजर पनि साहित्यमा नै हुन्थ्यो ।

पहिले उहाँ हातैले लेखेर भित्ते मासिक पत्रिकाहरूमा उपस्थित हुनु हुन्थ्यो । उहाँको लघुकथा लेखन यात्रा वि.सं. २०७७ सालदेखि भएको हो । उहाँले लेख्नु भएको पहिलो लघुकथा ‘डिमाण्ड’ हो । उहाँले विभिन्न सामाजिक विकृति, विसङ्गती विरुद्ध व्यङ्ग्य प्रहार गर्दै थुप्रै लघुकथाहरू लेखिसक्नु भएको छ । नेपाली समाजमा व्याप्त छुवाछुत, विभेद जस्ता विषयमा सशक्त रूपमा कलम चलाउँदै आउनु भएको उहाँको विभिन्न साहित्यिक पत्रपत्रिका, विद्युतीय पत्रपत्रिकाहरू तथा सङ्ग्रहहरूमा लघुकथाहरू प्रकाशित हुँदै आइरहेको छन् ।