काठमाडौँ / नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामाअध्येता भोगीराज चाम्लिङद्वारा प्रस्तुत “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” विषयक कार्यपत्र विमर्शको समूद्घाटन अध्यक्ष तथा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो।

उक्त अवसरमा उहाँले समावेशिताको प्रयोग र उत्थानमा “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” भएको बताउनुभयो । उहाँले कुनैकुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको सकारात्मक ध्वंस भएर नै विकास हुने बताउँदै यसकै आधारमा कविता लेखन पनि भौतिक उपस्थिति सहितको समावेशितामा मात्रै सार्थक रहने कुरा जनाउनुभयो ।

प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले समावेशितासहित नेपालमा बोलिने सम्पूर्ण मातृभाषाको समस्त संरक्षरण गर्नु सबैको दायित्व हो भन्नुभयो ।

आफ्नो स्वागत मनतव्यका क्रममा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले नेपाली तथा मातृभाषामा रचिएका कवितालाई राष्ट्रिय कविता महोत्सवमार्फत समावेशीकरण गरी सबैको आत्मसम्मान र स्वत्व वृद्धिमा जोड दिने र आगामी वर्षदेखि साताव्यापी साहित्यिक महोत्सवको आयोजना गरी प्रतिष्ठानको वार्षिकोत्सव गराउने लक्ष्य रहेको बताउनुभयो ।

यस प्रतिष्ठानका परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले नेपालका समग्र भाषाभाषीको सम्मानका लागि समावेशी स्वरूपको “राष्ट्रिय कविता महोत्सव”मा समावेशी चिन्तनको थालनी भएको र यसले सकारात्मक र नयाँ जागरणको भूमिका खेलेको बताउनुभयो ।

अध्येता तथा मुन्धुमविद् भोगीराज चाम्लिङद्वारा प्रस्तुत कार्यपत्र “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी”माथि समालोचकद्वय ज्ञानु अधिकारी र गुरुङ सुशान्तले टिप्पणी गर्नुभयो ।

यसैगरी प्राज्ञसभा सदस्यद्वय भागवत आचार्य र प्रकाश तिवारीले समेत धारणा राख्नुभयो । त्यस्तै भाषा आयोगका सदस्य गोपाल अस्क, उपप्रध्यापक विष्णु ज्ञवाली ,विक्रममणि त्रिपाठी, उदय लामा, प्रतापसिंह राई नाछिरङ, सोमबहादुर धिमाल, सज्जा दनुवार लगायतका सहभागीहरूले पनि जमेर आफ्नो धारणा राख्नुभयो ।

यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानको ६६ ओैँ वार्षिकोत्सवका अवसरमा पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुहुँदै कुलपति भूपाल राईले वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको समेत सुरुवात गर्नुभयो ।