काठमाडौँ / नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गर्न लागेको कविता महोत्सव – २०८० का लागि छनोटमा परेका कविताहरू सार्वजनिक गरेको छ।

नेपालीभाषातर्फ अविनाश भट्टराईको पाइतालाहरू, उमा शर्माको त्यो दिनको तयारी, कमल विवश मगरको कम्ब्याट, कृपाकरुणा पोखरेलको रक्तिम, उमेश पुनको छोरी, सिमाना र देश, गोविन्दप्रसाद आचार्यको तिम्रो नजरमा, जीवन आरोहीको प्रश्नहरूको विज्ञप्ति, तीर्थराज विश्वकर्माको कविले के सम्झियो ? दिनेश राईको पोक्ची दिदीको कथा, नवीन अभिलाषीको भेरी अभिशप्त बगिरहेछ, पूर्ण सन्ध्या समाधिको खोला र लाली गुँरास, प्रकाश दिप्साली राईको नौरानको नाम, प्रदीप योङहाङको पृथ्वीको प्रोटेट चित्र कविता छनोट गरिएका छन् ।

छनोट हुने अन्यहरूमा राधिका कल्पितको परिचयपत्र, शर्मिला दुलालको एउटा गीत, सञ्जित फलानाको आदिवासी डाँडा, सुन्दर शिरीषको एक परदेशी बकपत्र, सुवास सङ्गम राईको माटोको उचाइजस्ता कविताहरू रहेका छन् ।

त्यसैगरी मातृभाषातर्फ लिम्बू मातृभाषामा इन्दु फोम्बोको केसेम्बा निङ्वाहा, खाम मगर भाषामा टङ्कबहादुर झाँक्री मगर ( समीप वैरागी )को हुन्के बे बड्डा, नेपाल भाषामा दिलकुमारी डङ्गोलको विश्वासया प:खा:, चाम्लिङ भाषामा बादलदेवी चाम्लिङको तोक, थामी भाषामा रमेश थामी “छड्के सलाम”को झोला, डोटेली भाषामा खिमानन्द जोशीको मूई गोठ नाइँ झान्या हुँ, डोटेली भाषामा पूर्णचन्द्र ओझाको सन्निको मान्स महोत्सव-२०८०का लागि छनोटमा परेका छन् ।

यस महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी ८९२ वटा कविता प्राप्त भएका तर कतिपय कविहरूले दोहोर्‍याएर कविता पठाएको पाइएको छ । त्यसैले, ६४४ वटा कवितामात्र आधिकारिक रूपमा दर्ता भएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

यी कविताहरूको मूल्याङ्कन गरी छनोट समितिले २५ जना कविका २५ ओटा कविताहरूलाई वाचनका लागि छनोट गरेको हो । छनोटमा परेका कविताहरू यही २०८० साल असार ९ गते, शनिबार आयोजना हुने राष्ट्रिय कविता महोत्सवमा वाचन गरिने छन् । वाचित कविताहरू मध्येबाट १० जना कविका उत्कृष्ट कवितालाई छनोट गरी पुरस्कृत गरिने छ ।

यस दशकमै सर्वाधिक कविहरूले नेपाली भाषा/मातृभाषाका कविता पठाएर समावेशी स्वरूपको “राष्ट्रिय कविता महोत्सव”-२०८०”लाई अनुमोदन गरेको प्रतिष्ठान प्रशासनले जनाएको छ ।

यसपटक महोत्सवका लागि छनोट भएका २५ वटा कवितामध्ये मातृभाषामा लिम्बू,डोटेली,खाम मगर ,नेपालभाषा ,चाम्लिङ र थामी भाषाका ७वटा र नेपाली भाषामा १८वटा कविता छानिएका छन् । यसपटकको राष्ट्रिय कविता महोत्सवमा कविहरूको यस दशककै सर्वाधिक सहभागिता रहेको छ ।