कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सबमा प्रदान गर्दै आएको कबा सम्मान तथा पुरस्कारलाई निरन्तरता प्रदान गर्दै यस वर्षका लागि प्रतिभा चयन गरेको छ ।
यस पटक कबा विशिष्ट सम्मान कपन बानेश्वर साहित्यिक साप्ताहिकका साहित्यकार विमल अर्याललाई प्रदान गरिने भएको छ ।
यसैगरी महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार २०७९ साहित्यकार तथा साहित्यिक पत्रकार मुरारी सिग्देललाई प्रदान गरिने भएको छ ।
पत्रिकामा प्रकाशित रचनाहरूमध्ये यस पटक नालाङ्ग कबा रचना पुरस्कार २०७९ पुरुषतर्फ दिवाकरप्रसाद आचार्यलाई पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार २०७९ प्रदान गरिने भएको छ भने महिलातर्फ शान्ति रिसाललाई गङ्गा लिगल कबा रचना पुरस्कार २०७९ प्रदान गरिने भएको छ । यस्तै मोफसलतर्फ लमजुङका रमेशचन्द्र घिमिरेलाई हेमगङ्गा कबा रचना पुरस्कार २०७९ बालतर्फ रिलायन्स इन्टरनेसनल एकेडेमी कपनका युगिन नेपाललाई प्रदान गरिने भएको छ ।
पत्रिकाका प्रबन्धक वरिष्ठ साहित्यकार गङ्गा पौडेलको संयोजकत्वमा गठित प्रतिभा चयन समितिको सिफारिस बमोजिम प्रतिभा चयन गरिएको जनाइएको छ । यी सम्मान तथा पुरस्कार आगामी साउन ५ गते शुक्रबार पत्रिकाको एघारौं वार्षिकोत्सवको अवसरमा गरिने विशेष कार्यक्रमबीच प्रदान गरिने कपन बानेश्वरका व्यवस्थापक विमल कोइरालाले जनाउनु भएको छ ।
पत्रिकाका संरक्षकहरूको नाममा पुरस्कारहरुको नामाकरण गरिएको र पुरस्कारमा सास,प्रमाणपत्र र नगद ५००० रुपैयाँ रहेको पत्रिकाका सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीले बताउनु भयो । निबन्ध आचार्यको सम्पादन तथा प्रकाशनमा २०६९ साउन ५ गतेदेखि निरन्तर रुपमा प्रकाशित कपन बानेश्वर साहित्यिक साप्ताहिकलाई नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिकाको रुपमा हेर्ने गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।