ललितपुर / लुम्बिनी बौद्ध विश्वविद्यालयको सहयोगमा भएको नेवाः बौद्ध हाइकु प्रतियोगिताका विजयी हाइजिनहरुलाई एक समारोहको आयोजना गरी पुरस्कार वितरण तथा प्रतियोगी हाइकुको संकलन सार्वजनिक गरिएको छ । नेवाः हाइकु ख्यःद्धारा आयोजित सो समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, बौद्ध विश्वविद्यालयका डीन माणिकरत्न शाक्य र रजिष्टार डा. तिलकराम आचार्यले संयुक्त रुपमा बौद्ध हाइकु संग्रह सार्वजनिक गर्नुभयो ।

त्यसअघि प्रमुख अतिथि निभाःले विजयी हाइजिनहरु विमलप्रभा बज्राचार्य, मिलन शाक्य, रामेश्वर जलन, रामेश्वर मिश्रण र रिता महर्जनलाई उत्कृष्ट पुरस्कार र आनन्दसिद्धि तुलाधर, बद्रि बेदना, बुद्धलक्ष्मी बज्राचार्य, दिब्या ताम्राकार, प्रदीप आर तुलाधर, राजु नापित, रिता मर्हजन र तेजकृण श्रेष्ठलाई सान्त्वना पुरस्कार प्रदान गर्नुभयो ।

त्यस अवसरमा प्रमुख अतिथि निमाले हाइकुमा शब्द थोरै तर अनुभूति र भावनाको क्षेत्र भने व्यापक हुने बताउनुभयो ।

रजिष्ट्रार डा. आचार्यले बुद्धसँग सम्बन्धित विषयमाथि खोज अनुसन्धान तथा विविध क्षेत्रमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका सभापति एवं बौद्ध विश्वविश्वविद्यालयका डीन माणिकरत्न शाक्यले बुद्ध जन्मेको देशका हामी भनेर केवल गर्व मात्र नगरी बुद्धबारे पनि जानकारी राख्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा विमोचित हाइकु सङ्ग्रह र प्रतियोगिताका बारेमा सुरेश प्रधान, पुष्पराज राजकर्णिकार, धु्रव मधिकर्मी, बज्रराज शाक्य र डा. चुन्दा बज्राचार्यले पनि मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालभाषा साहित्यका स्रष्टाहरु आनन्द जोशी, भूषणप्रसाद श्रेष्ठ, नरेशबीर शाक्य, बंशीधर बज्राचार्य, केदार सितु , पुष्कर माथेमा, नारद बज्राचार्य, शैलेन्द्र श्रेष्ठ, नरेश अमात्य, मंगलनारायण जोशी, विमल ताम्राकार, सुरेन्द्रलाल भुजू , पौभाः साय्मि, तुयु पुं दिव्या बज्राचार्य, माणिक उराय लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।