काठमाडौँ / समाजशास्त्री डा. दिपेश घिमिरेको ‘शासन र शासक, नेपाली दुखका विविध आयाम’ पुस्तक शनिबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले एक कार्यक्रमका बीच विमोचन गर्नुभयो ।

सो अवसरमा उहाँले राजनीतिज्ञमा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृत्तिभन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताउनु भएको हो ।

उनले राजनीतिमा गएर जुकाजस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाई पुग्ने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने बताउनुभयो । गरिब जनताले सिटामोलसमेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौँ दिइरहनुपर्ने प्रवृत्ति पनि समाप्त हुनुपर्ने उहाँको धारणा थियो ।

भ्रष्टाचारमा लिप्त भएकाहरूलाई पाखा लगाएर युवालाई हरेक क्षेत्रमा अवसर दिइनुपर्नेमा पूर्वप्रधानन्यायाधीश कार्कीले जोड दिनुभयो । कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले तीन पटक भन्दाबढी मन्त्री हुन नपाउने, चार पटक भन्दाबढी सांसद बन्न नपाउने व्यवस्था पनि मुलुकको शासन सुधारका लागि अतिआवश्यक रहेको बताउनुभयो।

नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको उहाँकोधारणा थियो। उहाँले भ्रष्टाचारविरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।