काठमाडौँ / नेपाल प्राज्ञ-प्रतिष्ठानले यही आसार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस दशककै सर्वाधिक कविताहरू दर्ता हुन आएका छन्। महोत्सवमा इमेलबाट ८४८ र प्रत्यक्ष ४४ वटा गरी ८९२ वटा कविता प्रतिष्ठानमा दर्ता हुन आएका छन् ।

२०२२ सालदेखि सुरु गरिएको राष्ट्रिय कविता महोत्सवको इतिहासमा यो पछिल्लो दशक यता निरन्तर खस्किरहेको कविहरूको आकर्षण बढेको देखिएको हो ।

५८ वर्षे लामो राष्ट्रिय कविता महोत्सवको परम्परा र प्रतियोगितात्मक ढाँचालाई परिवर्तन गरेर यसपटकदेखि प्रज्ञा-प्रतिष्ठानले समावेशी सहभागितामूलक सिद्धान्तअनुसार सबै “नेपाली भाषा/मातृभाषा/का कविताहरूलाई आह्वान गरेको थियो ।

“सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा -प्रतिष्ठान” भन्ने नाराका साथ प्रज्ञा -प्रतिष्ठानलाई सारा नेपालीको साझा थलो बनाउने योजनाको प्रमुख कडी भनिएको छ । यस राष्ट्रिय कविता महोत्सवको यही नारालाई आत्सात् गरेर यस पटक यो दशककै सर्वाधिक सङ्ख्यामा कविहरूले महोत्सवमा सहभागिता जनाउन लागेका हुन् । यसपटक राष्ट्रिय कविता महोत्सवमा नेपाली ,संस्कृत ,डोटेली,वाम्बुले राई, वान्तवा राई ,लिम्बु ,कुलुङ,अवधी,मगही,मगर (खाम),राजवंशी,उरावँ,मैथिली,ल्होमी,धिमाल, माझी, कठरिया(थारू),पुमा राई,गुरूङ,नाछिरिङ,वायुङ /बाहिङ,सामपाङ,नेपालभाषा, चाम्लिङ राई ,तामाङ,ताजपुरिया, शेर्पा,थुलुङ,दुङ्माली ,खस हुम्ली,घले गुरुङ,भोजपुरी ,मध्य पूर्वीय थारू,पूर्वी थारू र थारू लगायतका मातृभाषामा रचिएका कविताहरू राष्ट्रिय कविता महोत्सवका लागि प्राप्त भएका छन् ।