पाल्पा, असार २ / तरङ्ग साहित्य संगम तानसेन ९ दमकडा पाल्पाको आयाेजनामा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संगमका अध्यक्ष राधाकृष्ण शर्माको अध्यक्षतामा भएको हाे ।

अतिथिका रूपमा डा. शंकरप्रसाद गैरे, डा. टंकप्रसाद पन्थ, धवल पुस्तकालयका अध्यक्ष युवराज पाैड्याल, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मी, राजेन्द्रगाेपाल सिंह लगायत पाल्पामा क्रियाशील साहित्यिक संस्थाका प्रमुख तथा साहित्यकारहरूकाे उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित अतिथि लगायत सम्पूर्णलाई स्वागत गर्ने काम संगमका उपाध्यक्ष साहित्यकार नारायण अधिकारीले गर्नुभएको थियो । उहाँले २०५० सालमा संस्था स्थापना भएदेखि गर्दै आएका गतिविधिलाई समेत प्रकाश पार्नुभयाे ।

दमकडा माविका छात्राहरूकाे नृत्यबाट कार्यक्रम सुरु भएको सो कार्यक्रममा रेनुका बस्यालले ‘श्रीनगर तानसेन घमाइलाे…’ बाेलकाे गीत प्रस्तु गर्नुभयो । जनक भण्डारीले ‘राष्ट्र र राष्ट्रियता’ शीर्षककाे सिर्जना वाचन गर्नुभयो । सीता अधिकारीले ‘नारी दिवस र देशका युवा’ शीर्षकको कविता वाचन गर्नुभयो । त्यस्तै पूर्णचन्द्र न्याैपानेले ‘तिमी रूख हुनु’ शीर्षकको गद्य कविता र गजल वाचन गर्नुभयो । फणीन्द्र बस्यालले ‘तानसेनकाे पानी’ शीर्षकको प्याराेडी प्रस्तुत गर्नुभयो । तानसेनकाे खानेपानी र बिजुली बत्तीको अवस्थालाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गरिएको थियो । गणेश नेपालीले प्रेमिल भावकाे गजल प्रस्तुत गर्नुभयो । गुणाकर भुसालले वर्तमानकाे अवस्थालाई कवितामा प्रस्तुत गर्नुभयो । विसङ्गत अवस्थाकाे चित्रण उहाँले प्रस्तुत गर्नुभयो । नारायण गाेपाल पाण्डेले ‘यथार्थ’ शीर्षकको अनुष्टुप छन्दकाे कविता वाचन गर्नुभयो । स्वाभिमानी पुर्खाकाे जगमा उठेकाे देशका जनता खाडीमा लाम लागेर जानुकाे विडम्बनालाई प्रस्तुत गर्नुभयो ।

आर. बी. निश्चलले ‘पृथ्वी र पागलहरू’ शीर्षकको कविता वाचन गर्नुभयो । पुरुषाेत्तम अर्यालले ‘कहाँ छ राष्ट्रवाद खै ?’ शीर्षकको छन्द कविता वाचन गर्नुभयो । नक्कली भुटानी शरणार्थी लगायत वर्तमानका विकृतिप्रतिकाे सशक्त विमति उहाँको कवितामा व्यक्त भएको थियो । सीताराम घिमिरेले समसामयिक भ्रष्टाचार र विकृतिमा केन्द्रित मुक्तकहरू वाचन गर्नुभयो । गाेविन्द नेपालले ‘डुम्रीचाैर’ शीर्षकको लाेक लयमा कविता वाचन गर्नुभयो । तारा ढकालले आमाकाे सम्झना केही पंक्ति प्रस्तुत गर्नुभयो । पदम भण्डारीले शृङ्गारिक भावकाे गजल वाचन गर्नुभयो । रेकराज बस्यालले ‘मन लाग्छ’ शीर्षकको रचना वाचन गर्नुभयो । हरि भट्टराईले ‘ तरङ्गकाे तरङ्गमा तरङ्गिदा’ शीर्षकको गद्य कविता वाचन गर्नुभयो । नारायणप्रसाद अर्यालले ‘गणतन्त्र’ शीर्षकको कविता वाचन गर्नुभयो ।

यसैगरी रामप्रसाद अर्यालले ‘कठै बरा !’ शीर्षकको व्यङ्ग्यात्मक कविता वाचन गर्नुभयो । प्रेम खरालले ‘झुलभित्रकाे लामखुट्टे’ शीर्षकको कविता वाचन गर्नुभयो । नारायण अधिकारीले ‘आँगनकाे ढुङ्गाे’ शीर्षकको कविता वाचन गर्नुभयो । राजेन्द्रगाेपाल सिंहले सहकार्यबाट पाल्पाको भाषा साहित्यका बारेमा याेगदान गराैँ भन्नुभयो । पुष्करराज रेग्मीले ‘तरकारी सभा’ शीर्षकको कथा वाचन गर्नुभयो ।

युवराज पाैड्यालले तरङ्ग साहित्य सङ्गमले यात्रा साहित्यमा पुर्‍याएकाे याेगदानकाे स्मरण गर्नुभयो । ‘काले’ शीर्षकको कविता वाचन गर्नुभयो । तानपा ९ का अध्यक्ष राजेशकुमार अर्यालले शुभकामना व्यक्त गर्नुभयो । डा. शंकरप्रसाद गैरेले ‘जाेगी’ शीर्षकको कविता प्रस्तुत गर्नुभयो । टंक पन्थद्वार प्रश्न छ शीर्षकको छन्द कविता प्रस्तुत भयो ।

कार्यक्रमका अध्यक्ष राधाकृष्ण शर्माले सम्पूर्ण उपस्थित व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । कविता सिर्जनाका लागि उकुसमुकुसकाे वातावरणले कडीकाे काम गरेको सन्दर्भलाई व्यक्त गर्नुभयो । विकृति र उत्पीडनका भावकाे सिर्जना ‘यस्तै छन् सबका यहाँ विवशता’ बाेलमा प्रस्तुत गर्नुभयो ।

कार्यक्रमकाे सञ्चालन सहसचिव प्रेम खरालले गर्नुभएको थियो ।