‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार – २०७९’ का लागि अन्तिम सूचीमा प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ रहन सफल भएको छ । पहिलो पुस्तकको रूपमा काव्य लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका कविहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को अन्तिम सूची ‘मफलर’ पर्न सफल भएको हो ।

पुरस्कारको अन्तिम सूचीमा रोदनको ‘मफलर’सहित रोहिणी रसिको कवितासङ्ग्रह ‘छन्द आराधना’ र मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार- २०७९’ प्रदान गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार – २०७९’को विजेताको घोषणा सार्वजनिक समारोह आयोजना गरी गरिने साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजन अश्विनी कोइरालाले जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन काव्यकृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’

कोइरालाका अनुसार, गुरूपूर्णिमाको अवसर पारेर आउँदो असार १८ गते साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।