‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार – २०७९’ का लागि अन्तिम सूची जारी भएको छ । पहिलो पुस्तकको रूपमा काव्य लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका कविहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को अन्तिम सूची सार्वजनिक गरिएको हो ।

पुरस्कारको अन्तिम सूचीमा रोहिणी रसिको कवितासङ्ग्रह ‘छन्द आराधना’, मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’ र प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार- २०७९’ प्रदान गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार – २०७९’ का लागि ०७९ सालभरि प्रकाशनमा आएका ४२ काव्यकृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ४२ काव्यकृतिहरूबाट ११ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ काव्यकृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ काव्यकृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार – २०७९’को विजेताको घोषणा सार्वजनिक समारोह आयोजना गरी गरिने साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजन अश्विनी कोइरालाले जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन काव्यकृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’

कोइरालाका अनुसार, गुरूपूर्णिमाको अवसर पारेर आउँदो असार १८ गते साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

अन्तिम सूचीका समावेश तीन कृतिः

१. छन्द आराधना – रोहिणी रसिक

मोरङ निवासी कवि रोहिणी रसिककृत छन्दबद्ध कवितासङ्ग्रह ‘छन्द आराधना’ साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको अन्तिम सूचीमा पर्न सफल भएको छ ।

राष्ट्रिय एकता र स्वाधिनताको पक्षमा तथा सबै खाले देशद्रोहको विरुद्धमा मुखरित यो काव्यकृति रसिकको पहिलो हो । सङ्ग्रहित कविताहरुले साझा संस्कृति, सामाजिक मेलमिलाप, धार्मिक तथा साँस्कृतिक सहिष्णुताको वकालत गर्छन् ।

कविताकृति विविध छन्दका ७२ कविता सङ्ग्रहित छन् । पुस्तकलाई रावासावा प्राज्ञिक समाज, नेपालले प्रकाशनमा ल्याएको हो ।

 

२. कर्नाली हाँस्दो छ – मिमबहादुर परियार

कवितामार्फत् आफ्नो अलगै पहिचान बनाइसकेका कवि मिमबहादुर परियारको पहिलो कृति, ‘कर्नाली हाँस्दो छ’ साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको अन्तिम सूचीमा पर्न सफल भएको छ ।

पुस्तकमा सङ्ग्रहित कविताहरुमा राज्यबाट अपहेलित कर्णाली तथा जातव्यवस्थाबाट प्रताडित दलित समुदायको भावना मुखारित भएर आएका छन् । कविताका माध्यमबाट परियार मानवताविरोधी जातीय छुवाछुत विरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । अझ भन्दा, राज्य–सत्ता विरुद्ध धाबा नै बोलेका छन् ।

समता बुक्सले प्रकाशनमा ल्याएको कविताकृतिमा ३५ वटा कविताहरु सङ्ग्रहित छन् ।

 

३. मफलर – प्रदीप रोदन

वर्तमान समयका चर्चित गजलकार प्रदीप रोदनको पहिलो कृति, गजलसङ्ग्रह ‘मफलर’ साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको अन्तिम सूचीमा पर्न सफल भएको छ ।

प्रेमिल गजलका लागि प्रसिद्ध रोदनका गजलले प्रेम मात्रै बोलेका छैनन्, समाज र दर्शन पनि बोलेका छन् । वर्तमान समाजमा विद्यमान विकृति तथा कुसंस्कारलाई उनले सरल र सरस ढङ्गले गजलमा उतारेका छन् । उनका गजलमा सत्तालाई प्रश्न तथा बदलिएको अर्थराजनीतिको चित्रण पनि पाइन्छ ।

फाइन प्रिन्टले प्रकाशनमा ल्याएको गजलसङ्ग्रह मफलरमा १ सय ८ थान गजल तथा १ सय ८ थानै फर्दहरु सङ्ग्रहित छन् ।