साताका पुस्तककाे रूपमा साहित्यपाेस्टलाई कवि गोकर्ण मल्लकृत कविता सङ्ग्रह “सिउँडीको फूल” प्राप्त भएकाे छ ।
यसमा ‘बादल भएर घुम्दाघुम्दै’, ‘कसरी भनूँ कविता ?’, ‘पन्छी जान्छौ तिमी कहाँ’, ‘शून्य हुन्छौ अनि गनिँदैनौ’, ‘स्तब्ध भएको छु’लगायत २७ थान कविता सङ्ग्रहित छन् ।
“जस्तो कि सिउँडीको फूलमा व्यक्त भावनाले दुःख, गाह्रो, खतरा आदिमा साथ लिने अनि अरू बेला धोका दिएर त्यागिने प्रवृत्ति भएकाहरूले आफ्ना कुसंस्कार अधर्म देखाए पनि सिउँडीले उसको धर्म, संस्कार र अरूको भलो सोच्न कहिल्यै छाड्दैन ।”भूमिकामा सरिता मल्ल लेख्छिन्, “त्यस्तै बोल्छ पीपलमा ज-जसले जे जस्तो गरे पनि पीपल जहाँ जे-जसरी भए पनि सबलाई समभाव राखेर चिनारी बनाउँछ । यस्तै काश, हिँडिरहन्छन् मेरा पाइलाहरू, कहिले आउला हामी हाँस्ने दिन, काज फिर्ता गरियोस् प्रभु, कसरी भनूँ कविता, ब्याकहोलले निल्यो कि लगायतका अन्य कविताहरूले कविले देखे-भोगेका प्रवृत्तिहरू, राष्ट्रप्रेमका भावना, मनको अतृप्त चाहतहरू आदि इत्यादि कुराहरूलाई उजागर गर्दछन् ।”
पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा केशवराज आमोदी लेख्छन्, “कविले यस कृतिमार्फत कतै बाल्यकालका सुमधुर स्मृति र किशोरावस्थाका प्रेम-प्रणयजन्य बैँसे मनोभिलाषा कतै पारिवारिक सौहार्दपूर्ण स्नेह-सद्भाव, सांस्कृतिक सम्मोह अनि कतै सामाजिक-राजनीतिक घात-प्रतिघात र अन्तर्घातजन्य तमाम विद्रूपता र वितृष्णालाई समेटेर मुक्तछन्दको सुष्ठुतर प्रयोग गरी सत्ताइस नक्षत्रीय प्रतीकका रूपमा सत्ताइस वटै शीर्षकका रचनाहरू समेटेका छन् ।”
पुस्तकलाई सरिता मल्लले प्रकाशनमा ल्याएका हुन् । १ सय ४३ पृष्ठमा फैलिएको यस पुस्तकका मूल्य ३ सय ५१ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।