काठमाडौँ, जेठ ३१ / बौद्ध आध्यात्मिक पत्रिका ‘सम्यक सन्देश’ राष्ट्रिय द्वैमासिकको सातौं वार्षिकोत्सव तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण समारोहको नेपाल प्रज्ञा प्रतिष्ठानमा एक भव्य कार्यक्रमका आयोजना गरी सम्पन्न गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता तथा बौद्ध अध्येता एवं सम्यक संदेशका सल्लाहकार श्यामलाल चित्रकारको सभापतित्व एवं चारुमती बुद्ध विहार प्रमुख भिक्षु तपस्सीधम्म महास्थविरको विशेष आतिथ्यताका साथै बौद्ध विद्वान तथा सम्यक संदेशका सल्लाहकार प्रा.डा. वज्रराज शाक्य, भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारबाट सम्मानित वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार तथा परियत्ति अभियन्ता अमिता धाख्वा, साहित्यकार समालोचक एवं पद्मकन्या क्याम्पसका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली नेपाल भाषा एकेडेमीका सदस्य एवं समालोचक पूर्णकाजी ताम्राकार, इमेज टेलिभिजनकी उपाध्यक्ष एवं समाजसेवी इन्दिरा मानन्धर सम्यक संदेशका सल्लाहकार डा.लक्ष्मण शाक्य,नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बोधि टेलिभिजनका सरु तुलाधर, सम्यक संदेशका सल्लाहकार कृष्ण बहादुर श्रेष्ठको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा सम्यक संदेशका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ द्वारा शुभकामना मन्तव्यका व्यक्त गरिएको थियो । साथै कार्यक्रमका विशेष अतिथि एवं चारुमति बुद्ध बिहारका प्रमुख भिक्षु तपस्सिधम्म महास्थविरद्वारा पन्चशील पाठ गरिनुका साथै आशीर्वचन प्रदान गरिएको थियो ।

नेपाल भाषा एकेडेमीका सदस्य तथा समालोचक पूर्ण काजी ताम्राकारले शुभेच्छा मन्तव्य व्यक्त गर्ने क्रममा समाजमा देखिएको मानवीयता ह्रास एवं विचलन साथै अशान्तिका बीच २६ सय वर्षअघि वैज्ञानिकता सहितको, शान्ति करुणा र मैत्रीका लागि बुद्धले जुन शान्ति र ज्ञानको खोज गर्नुभयो त्यो शान्तिको आवश्यकता अहिले पनि बढेर गएको बताउनुभयो ।

यसैगरी मन्तव्यका क्रममा समालोचक एवं पद्मकन्या कलेजका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले दर्शनका प्रसंग उल्लेख गर्दै बुद्धका ज्ञानको खोजी, दया करुणा र क्षमाशीलता एवं बटवारा हुने आर्जनको भन्दा जति बाँढे पनि नसकिने बरु बढ्दै जाने ज्ञानको खोजको रुपमा रहेको बुद्धको त्याग तपस्या र ज्ञानको महिमाका बारेमा चर्चा गर्दै भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारबाट सम्मानित भएका दुई व्यक्तित्व वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार र परियत्ति अभियन्ता अमिता धाख्वाका बारेमा संक्षिप्त प्रकाश पार्नुभयो ।

कार्यक्रममा नेपाली थेरबादी बुद्ध दर्शनका बारेमा लेखन अनुसंधान गरि बिशिष्ट योगदान पुर्याएबापत वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार तथा बुद्ध धर्म, संस्कृति सम्पदा अध्ययन अध्यापन गरि बौद्ध संस्कृति र सम्पदाका बारेमा पुर्याएको योगदानको मूल्यांकन गर्दै परियत्ति अभियन्ता अमिता धाख्वालाई क्रमशः रु पच्चिस सय नगद राशिसहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

सम्मानित व्यक्तित्व अमिता धाख्वाले आफूले बुद्ध दर्शन साहित्यमा निरन्तर रुपमा लेखन अनुसंधान गरिरहँदा कुनै मान सम्मानको आशा नगरेको उल्लेख गर्दै सम्यक संदेशको सातौं वार्षिकोत्सवका अवसरमा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारबाट आफू सम्मानित हुन पाएकोमा हार्दिक आभार व्यक्त गर्नुभयो ।

अर्का सम्मानित व्यक्तित्व घनश्याम राजकर्णिकारले भिक्षु अश्वघोषले जीवनकालमा समेत आफूलाई अत्यन्त माया गर्ने प्रसंग उल्लेख गर्दै मृत्यु पर्यन्त वहाँकै नामबाट स्थापित पुरस्कार प्राप्त गरेर वहाँको म प्रतिको त्यो प्रेम सद्भाव र शुभेच्छा कायम नै रहेको महसुस गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा सम्यक संदेशका शुभेच्छुक, सहयोगी १८ व्यक्तित्वलाई सम्मान अर्पित गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरू क्रमशः प्रा. डा. वज्रराज शाक्य,सावित्री चित्रकार, इन्दिरा मानन्धर ,तेजरत्न शाक्य बोधि टेलिभजन टेकु काठमांडू,काजीरत्न शाक्य,तिर्थराज बज्राचार्य,उद्योगरत्न तुलाधर, हेमचंद्र बज्राचार्य, पूर्णमान चित्रकार, आनन्द शाक्य,कर्मलाल महर्जन,अमृतमान ताम्राकार बिष्णु बिकल्प शाक्य,कल्पना तुलाधर, प्राकाशमान शाक्य,कृष्ण बहादुर श्रेष्ठ, बिना श्रेष्ठ हुनुहुन्थ्यो ।

-जयराम बिडारी