करिष्ठ रङ्गकर्मी वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा बनेको नाटक ‘गुन–केसरी’ मञ्चन भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा जेठ ३० गते राष्ट्रिय नाचघरको मिनीहलमा नाटकको मञ्चन गरिएको हो ।

पौराणिक कथा तथा ग्रीकेली मिथकलाई अहिले वर्तमान स्थितिसँग जोडेर नाटक ‘गुन–केसरी’ तयार पारिएको छ । नाटकमा युवाहरूमा देश त्याग्ने रहरको बढ्दो ग्राफ र नारी–पुरुष बिचको साँचो प्रेमको घट्दो ग्राफलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

नाटकमा विदेश प्रेमले विदेशिएको प्रेमी ‘गुन’ लास बनेर देश फर्किँदाको प्रेमिका ‘केसरी’मा देखिएको मनोदशालाई सजीव रूपमा चित्रण गर्न निर्देशक हमाल कति पनि चुकेका छैनन् । प्राप्त भूमिकालाई न्याय गर्न कलाकारहरुले भरपूर प्रयास गरेका छन् ।

युवाहरुको विदेश प्रेमले देशको जनशक्तिमा आधारित संरचनालाई झन् झन् कमजोर बनाउँदै लगेको छ भने प्रेममा आएको विचलनले समग्र सामाजिक संरचनालाई नै जीर्ण बनाउँदै लगेको छ । नाटकले समग्रतामा यही कुरालाई सजीव रुपमा चित्रण गरेको छ ।

जेठ ३१ गते पनि मञ्चन हुने नाटक ‘गुन–केसरी’को नियमित मञ्चन भने असार ५ गतेबाट सुरु हुनेछ ।