काठमाडौं, जेठ २८ / ब्रिलियन्ट बहुमुखी क्याम्पसको आयोजना तथा मुक्तकसागर त्रैमासिक पत्रिकाको संयोजनमा जेठ २६ गते ब्रिलियन्ट कलेजको प्राङ्गणमा कलेजस्तरीय मुक्तक प्रतियोगिता सम्पन्न भयो ।

ब्रिलियन्ट कलेजका प्रिन्सिपल दुर्गाप्रसाद नेपालको सभापतित्व तथा इन्जिनियर, प्रोफेसर केदारनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगितामा ब्रिलियन्ट कलेजका छात्र छात्राहरू सहभागी थिए ।

निर्णायक भूमिकामा क्याम्पसका नेपाली विभागीय प्रमुख तुलसी घिमिरे, मुक्तकसागर त्रैमासिक पत्रिकाकी सम्पादक निशा के.सी. तथा प्राध्यापक उषा आचार्य रहनुभएको थियो ।

प्रतियोगितामा सहभागी विद्यार्थी मध्येबाट प्रथममा मनोज रावत, द्वितीय दुर्गा न्यौपाने, तृतीय सुमित्रा जी.सी. र सान्त्वना पुरस्कार टीकाराम बुढा तथा प्रेमिका भुजेलले प्राप्त गर्नुभएको थियो ।

निर्णायकका तर्फबाट प्रतिनिधित्व गर्दै तुलसी घिमिरेले मुक्तकको संरचना र मुक्तकको लोकप्रियतामाथि प्रकाश पार्नुभयो ।

मुक्तकसागरकी सम्पादक निशा केसीले मुक्तकमा विद्यार्थी भाइबहिनीहरूका आवाज पनि समेटिन जरुरी रहेको बताउनुभयो ।

प्रमुख अतिथि केदारनाथ अधिकारीले मुक्तक सुनेर मन आनन्दित भएको बताउँदै यस्ता कार्यक्रमहरू स्कुल तथा कलेजमा भइरहनुपर्ने कुरामा जोड दिनुभयो ।

शिक्षक नीलम आचार्यले संचालन गर्नुभएको सो कार्यक्रममा सभाध्यक्ष दुर्गाप्रसाद नेपालले साहित्यले मनसँग जोड्छ भन्दै आगामी दिनहरूमा पनि ब्रिलियन्ट कलेजले साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, पुरस्कृत तथा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।