साहित्यपोस्ट

नेपाली लोकसाहित्यका धरोहर जनकविकेशरी धर्मराज थापाको ९६ औं जन्मजयन्ती मनाइएको छ । कोरोना महामारी तथा लकडाउनको असहज परिस्थितिलाई मनन् गर्दै उनकै निवास कास्कीचोक, स्वयम्भूमा एक कार्यक्रमका बीच थापाको जन्मजयन्ती मनाइएको हो ।

जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको जन्मजयन्ती कार्यक्रममा अध्यक्ष मदनराज थापाले उनका कृतिको उत्थान तथा प्रचारको योजना बनाइएको बताए । ‘नेपाली साहित्य र लोकसंगीतको क्षेत्रमा उहाँले छोडेर जानुभएका तमाम कृति तथा गीतलाई आधुनिक प्रविधिमा रूपान्तरण गरेर जर्गेना गर्ने पहल सुरु भएको छ,’ उनले भने ।

थापाका कालीको लहर, गोल सिमल, मंगली–कुसुम, तिलोत्तमाको भेल, लोकसंस्कृतिको घेरामा लमजुङ, तनहुँ फूलबारी, चितवन दपर्ण लगायत कविता, काव्य तथा अनुसन्धान मुलक कृति प्रकाशित छन् । यसैगरी, मौलिक लोकगीत गायनमा पनि उनको छुट्टै पहिचान पाइन्छ ।

स्वर्गीय थापाका रेडियो नेपालमा हरियो डाँडामाथि हलो जोत्ने साथी, धुरुधुरु नरोऊ आमा, आज मादल बजेको किन, नेपालीले माया मा¥यो बरिलै, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, कहाँ गयौ वीर केआई सिंह झ्यालखाना तोडेर, जन्मेछौ बुद्ध नेपालमा जस्ता दर्जनौं कालजयी लोकगीत रेकर्ड भएका छन् ।

थापाले तत्कालीन १४ अञ्चल ७५ जिल्लाको भ्रमण गरी लोकगीत संकलन गरेर रेडियो नेपालमा रेकर्ड गराएका थिए । साथै, देशभरिका गन्धर्वहरूको पहिचानलाई प्रचारप्रसार गर्न गन्धर्व संगीतको भेला समेत गराएका थिए । उता देशबाहिर दार्जिलिङ, सिक्किम, आसाम, देहरादुन, भाक्सु, गुहावटी लगायत क्षेत्रको भ्रमण गरी नेपाली लोकगीत र लोकसाहित्यको प्रचारमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।

साहित्य संगीतबाट राष्ट्रलाई योगदान पुर्याएको भन्दै तत्कालीन राजा महेन्द्रले २०१३ सालमा थापालाई जनकविकेशरीको उपाधी दिएका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त उनलाई झ्याउरेको ‘बुलबुल’ उपनाम दिएको पुराना साहित्यकार सम्झिन्छन् ।

साहित्य तथा लोकगीत संगीतको माध्यामबाट राष्ट्रलाई अतुलनीय योगदान पु¥याएका थापाको जन्म १९८१ साल साउन १ गते कास्की (पोखरा) को बाटुलेचौरमा भएको थियो । उनको निधन २०७१ साल असोज २८ गते स्वयम्भूस्थित आफ्नै निवासमा भएको थियो ।