नेपाल प्रज्ञा-प्रतिष्ठानले२०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते आफ्नो स्थापना दिनको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ ।

यस पटक राष्ट्रिय कविता महोत्सवका लागि इमेलबाट ८४८वटा कविता प्राप्त भए भने प्रत्यक्ष ४४वटा कविता दर्ता भएका छन् ।यी दुवै माध्यमबाट ८९२वटा कविता राष्ट्रिय कविता महोत्सवका लागि प्राप्त हुन आएको देखिन्छ । तर कतिपय कविहरूले एउटै कवितालाई दोहोर्‍याएर र तेहर्याएर पठाएकाले कविताको सङ्ख्या बढेको देखिए पनि कविताहरूलाई एक -एक गरी छुट्याउँदा ६४४जना कविहरू राष्ट्रिय कविता महोत्सवमा समावेश भएका छन् । यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिन्छ ।

यस पटकबाट प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनौट हुने छ । यसरी छनौटमा परेका उत्कृष्ट १० कविताका कविलाई जनही रु१५०००/(रु पन्ध्र हजार ) पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । यस पटकबाट समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरिनुले कविहरूको आकर्षण बढेको देखिन्छ।

यस बारेमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले “प्रज्ञाप्रतिष्ठानको इतिहासमै पहिलो पटक राष्ट्रिय कविता महोत्सवको परम्परागत ढाँचालाई बदलेर समावेशी र सहभागितामूलक बनाएका छौँ । महोत्सवमा सबै नेपाली भाषा/मातृभाषाका कविताहरूलाई आह्वान गरिएकाले यस पटक विगतभन्दा बढी कविहरूले भाग लिएका छन् ।

यस पटकको राष्ट्रिय कविता महोत्सव साँच्चिकै राष्ट्रिय र साँच्चिकै महोत्सवको रूपमा सम्पन्न हुन गइरहेको छ । हाम्रो राष्ट्रिय कविता महोत्सवको यस समावेशी ढाँचालाई बहुसङ्ख्यक कविहरूले आत्मसात् गरेर अनुमोदन गरेको कुरा यसले पुष्टि गर्दछ” भन्नुभयो ।

यसै गरी नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्यविभाग प्रमुख बाबा बस्नेतले “राष्ट्रिय कविता महोत्सव समावेशिताको नयाँ रूप र स्वरूपअनुसार हुन गएकाले पनि कविहरूको आकर्षण बढेको हो” भन्नुभयो ।