साहित्यकार साधना प्रतीक्षाद्वारा लिखित कथाकृति ‘यमदूतको आत्मसमर्पण’ नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा एक समारोहका बीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालगायत अतिथिहरूले लोकार्पण गर्नुभयो।
पुस्तक लोकार्पणा गर्दै सभामुख इन्दिरा रानाले कृतिमाथि चर्चा गर्दै लेखकले मैले भोगेका समस्याहरूको पनि चित्रण भएका कथाहरू सङ्ग्रहमा छन् भनेर मात्रै कार्यक्रममा सहभागी भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘मैले जेलका बालबालिका रोज्ने कि मलाई भनेर श्रीमानले भन्नुहुँदा श्रीमान् नरोजेर जेलका बच्चा रोजेँ र श्रीमानबाट अलग भएँ । यस्तो साहस पुरुषमा हुँदैन । यमदूतको आत्मसमर्पण कथासङ्ग्रहमा महिलाका संवेदनाहरू छन् । पुरुषले महिलालाई कहिले पनि उमेरमा चुनौति दिन सक्दैनन् भन्ने तथ्यलाई यमदूतको आत्मसमर्पण कथाले व्यक्त गरेको छ ।’
समारोहका विशेष अतिथि केन्द्रीय नेपाली विभाग अध्यक्ष समालोचक प्रा.डा. खगेन्द्र लुइँटेलले पदवीबोधक शब्दमा लिङ्गभेद नहुने बताउनुभयो । शुभकामना मन्तव्य प्रकट गर्ने क्रममा उहाँले भन्नुभयो, ‘साधना प्रतीक्षामा लेख्ने क्षमता पनि छ। आवश्यक गम्भीरता पनि छ । म उनको लेखनको अझ उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
समारोहका अतिथि प्रा.डा. सावित्री मल्ल कक्षपतिले लोकार्पित कृतिका कथाहरू घटनाप्रधान भएको बताउनुभयो । कथासङ्ग्रहका कथाहरूका पाइने सांस्कृतिक आयामको चर्चा गर्दै उहाँले नारीले निर्वाह गरेको जीवनप्रतिको भूमिकाको चित्रण निकै मार्मिक र संवेदनशील ढङ्गले गरिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘उहाँका कथामा सांस्कृतिक आयाममा पनि अग्रगामी चिन्तन पाइन्छ सांस्कृतिक अभिलेखीकरणका दृष्टिले पनि यिनको विशेष महत्त्व छ ।’
पूर्वीय वाङ्मयका चिन्तक प्रा.डा. नारायण गड्तौलाले लोकार्पिक कृतिका कथाहरूका विषय हाम्रै घर आँगनको विषय भएको बताउनुभयो ।
कथाकार साधना प्रतीक्षाले भन्नुभयो, ‘महिलाका यति धेरै भूमिका छन् कि ऊ ती भूमिका निर्वाह गर्दागर्दै आफ्नो निम्ति बाँच्नै पाउँदिन र पनि उमेरका हिसाबले ऊ नै धेरै वर्ष जीवित रहन्छे । नारी भूमिकाको हिसाबले अग्रस्थानमा छ । यस कुरालाई पुरुषले मनन गरिदिनुहोस् भनेर मैले यो कृति लेखेकी हुँ ।’
शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न समारोहको सहजीकरण साहित्यकार महेश क्षितिजले गर्नुभएको थियो ।
शिखा बुक्सले बजारमा ल्याएको ‘यमदूतको आत्मसमर्पण’भित्र २५ वटा कथाहरू सङ्ग्रहित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 





