काठमाडौं / इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी- पर्या साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन, पुरस्कार वितरण, कविता वाचन, तथा एक दिवसीय आठौं वातावरण साहित्य गोष्ठी शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

विश्व वातावरण दिवस अवसर पारेर सरगम प्रकाशन प्रा.लि. तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासंघ आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानले जानकारी दिनुभयो।

सन् २०१६ देखि युकेमा रहेका नेपाली साहित्य संगठनको सहकार्यमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि पर्यासाहित्यमाथि चर्चा–परिचर्चा गरिएको हो ।

‘पर्या–साहित्य गोष्ठीमा भारत, भुटान र नेपालका विद्वानहरूले कार्यपत्र पेस गर्नुभएको थियो । साथै पर्या–साहित्यका सिद्धान्तकार तथा कार्यक्रममा विशेष सल्लाहकार डा. गोविन्दराज भट्टराईको विशेष उपस्थिति रहेको थियो ।

गोष्ठीमा भुटानका डा. शिवराज भट्टराई, नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति रहेको थियो ।

त्यसैगरी पर्यावरण साहित्यमा लेखिएका चार पुस्तक पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेट (अंग्रेजी संस्करण)को समेत विमोचन गरिएको छ ।

साहित्यपोष्टमा वर्षभरि प्रकाशित उत्कृष्ट तीन कविताका कविलाई (प्रथम डा. विप्लव ढकाल– भ्यागुताको बिहे’, दोस्रो वासुदेव अधिकारी– हिउँमारा तापमान, तेस्रो कृष्ण बाउसे– डाइनोसरको भजन) नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली पर्या साहित्य प्रतिष्ठानको समेत घोषणा गरियो । प्रतिष्ठानलाई प्रा.डा. गोविन्दराज भट्टराईले एक लाख सहयोग गर्नुभएको छ ।

गोष्ठीमा पर्या–साहित्यका दुई शोधार्थीले आआफ्नो अनुसन्धान अनुभव सुनाउनुका साथै, विभिन्न स्रष्टाहरूले पर्या–कविता वाचन गरेका थियो ।
विश्व वातावरण दिवस प्रत्येक वर्ष ५ जुनमा मनाइने गरेको छ ।