दुई वर्षअघि धनगढीमा नाटक प्रशिक्षणको कार्यक्रम राख्दा नयाँ पुस्ताका कलाकारहरूले खासै चासो राखेनन् । त्यसै पनि स्थानीय गीत संगीत तथा भिडियोमा अभिनय गरेर भाइरल भइरहेका ती स्थानीय कलाकारहरूलाई अभिनय पनि सिक्न सकिन्छ वा पढ्नुपर्छ भन्ने थाहा थिएन ।

जब प्रशिक्षण सकियो, उनीहरूले नै थप प्रशिक्षणको माग गरे। यो देखेर काठमाडौँ फर्कनु भएकी नेपाल नाट्य तथा संगीत प्रतिष्ठानकी तत्कालीन सदस्य नीशा शर्माले आफू कुलपति भएपछि नाट्य प्रशिक्षणलाई नै महत्त्व दिनु भएको छ ।

यतिबेला काठमाडौँमा ३० जना विद्यार्थीलाई रंगमञ्चका विविध आयाममाथि तालिम तथा प्रशिक्षण प्रदान गरिँदैछ ।

काठमाडौँ, थापागाउँस्थित आरोहण गुरूकुलमा प्रकाश संयोजन तथा ध्वनिका विविध आयामका बारेमा वरिष्ठ नाटककार सुनील पोखरेलले प्रशिक्षण दिनु भएको थियो । उहाँले नाटकमा प्रयोग गरिने प्रकाश र ध्वनिका सैद्धान्तिकीको चर्चा गर्दै यसको महत्त्वका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

यसैगरी सो प्रशिक्षणमा प्रकाश संयोजनको प्रायोगिक पक्षमा भने राजेन्द्र कट्टेल र ध्वनिको प्रायोगिक पक्षका बारेमा आदित्य कटवालले प्रशिक्षण दिनु भएको थियो ।

यसैगरी २४ गतेदेखि २९ गतेसम्म भने नाटक निर्देशक अनुप बरालले नाटकमा भ्वाइस र स्पिचको महत्त्व के कति हुन्छ भन्ने विषयमा प्रशिक्षण दिइरहनु भएको छ । यस विधामा देव न्यौपानेले सहायक प्रशिक्षण दिइरहनु भएको छ ।

नाटकमा भ्वाइस र स्पिचको महत्त्व मात्र होइन, प्रशिक्षार्थीमा ठूलो चासोसमेत देखिएको छ । यसमा ४३ जना विद्यार्थीहरूले प्रशिक्षण लिइरहेको नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले बताउनुभयो ।

काठमाडौँसँगै उपत्यकाबाहिरबाट समेत प्रशिक्षार्थीहरू प्रशिक्षणमा सहभागी भएका छन् ।

यसप्रति चासो देखेकै कारण आउँदो ३० गतेदेखि असार १ गतेसम्म चार दिने निर्देशन तथा अभिनय कार्यशालासमेत आयोजन गरिने भएको छ । यसरी प्रशिक्षित शिक्षार्थीहरूले आफ्नो ज्ञानलाई सानो नाटकमार्फत मञ्चन गर्ने छन् ।

नेपाल नाट्य तथा संगीत प्रतिष्ठानले कलाका विभिन्न विधामा रूचि राख्नेहरूका लागि विभिन्न तालिम दिनुपर्छ भनेर वार्षिक क्यालेन्डर बनाएरै यस्ता कार्यक्रमहरू गरिरहेको छ ।

यसअघि आफूले विभिन्न जिल्लामा गरेका प्रशिक्षण अनुभवका आधारमा काठमाडौँमा यो कार्यक्रमको आयोजन गरिएको कुलपति शर्माले बताउनुभयो ।

दुई वर्षअघि धनगढी, नेपालगंज, पोखरा, हेटौँडामा तथा गत वर्ष विराटनगर र लुम्बिनीमा नाट्य संगीत प्रतिष्ठानले प्रशिक्षण कार्यक्रम आयोजन गरेको थियो भने यस वर्ष पनि प्रशिक्षणमा विशेष जोड दिइएको छ ।

त्यसो त आफूले पदमा नरहँदा पनि आरोहण गुरूकुलमार्फत लामो समय विभिन्न प्रशिक्षणका कार्यक्रमहरू गरिरहेकै अनुभवका आधारमा प्रतिष्ठानले अझ सुव्यवस्थित प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्न सक्ने भएकाले यस्ता कार्यक्रमलाइ जोड दिइएको शर्माले बताउनुभयो ।

हाललाई प्रतिष्ठानको क्षमताले भ्याउञ्जेल आधारभूत प्रशिक्षण सञ्चालन गरिरहेको र भविष्यमा यही कुरालाई सरकारी संस्थामार्फत वृहद् स्तरमा गर्ने चाहना रहेको समेत उहाँले बताउनुभयो ।

हाल प्रशिक्षणमा २५ जनाको क्षमता भए पनि ४८ जनासम्म विद्यार्थीहरूले प्रशिक्षण लिइरहेका छन् ।

यसै वर्ष कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भेगमा नाटक प्रशिक्षणलाई निरन्तरता दिनेसमेत उहाँले बताउनुभयो ।