चितवन, जेठ २३ / विश्व वातावरण दिवसको दिन सोमबार साँझ नारायणी नदी किनारमा काव्यप्रेमीहरू कविता सुन्न भेला हुनुभयो ।

चितवन र नवलपुरका एक दर्जन बढी नयाँ र अग्रज पुस्ताका कविहरूले नदी किनारमा बुद्धको शालिक अगाडि रुखको फेदमा उभिएर सो अवसरमा आफ्ना नयाँ-पुराना कविता वाचन गर्नुभयो ।

महानगरले प्लास्टिकजन्य फोहोर पुरेर सम्याइएको सो ठाउँमा उभिएर कविहरूले कवितामार्फत् संकटमा परेको प्रकृति जोगाउन खबरदारी गर्नुभयो । सधैँ प्रकृतिको बयान र गुणगान गाउने कविहरूले यस पटक संकटमा रहेको प्रकृतिलाई जोगाउनुपर्ने भन्दै सरोकारवालाहरूलाई खबरदारी गर्नुभयो।

कविहरूलाई नदी किनारमा जुटाउने संयोग भने अक्षर समूह चितवनले मिलाएको थियो । पर्या–कविता वाचन कार्यक्रममा चितवन र नवलपुरका १६ जना कविले पर्यावरण संरक्षणसम्बन्धी कविता प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको सुरुवातमा कवि भूपिनले विश्व वातावरण दिवसका सन्दर्भमा भएको पर्या–कविता वाचन कार्यक्रमको औचित्यमाथि टिप्पणी गर्दै संरक्षण कविता आन्दोलनका अगुवा सरुभक्त र प्राध्यापक सञ्जिव उप्रेतीले पठाउनुभएका शुभकामनालाई पढेर सुनाउनुभएको थियो ।

कार्यक्रममा उहाँले आफ्नो ‘नदी’ शीर्षकको कविता र कवि कल्पना आचार्यको ‘प्रकृतिको अदालतमा’ सुनाउनुभएको थियो । उहाँका कवितामा प्रदूषणले मृत्यु नजिक पुगेको नदीलाई आमासँग तुलना गर्दै सन्तानले आफ्नी आमालाई नबिर्सन खबरदारी गरिएको थियो ।

कार्यक्रममा अघिल्लो पुस्ताका गोविन्द विनोदीदेखि नयाँ पुस्ताकी कवि सुप्रदीप्ति भण्डारीको समेत सहभागिता थियो ।

वातावरण विज्ञानकी विद्यार्थी भण्डारीको कविताले प्रकृतिको लय नै जीवनको लय हो भन्ने भाव बोकेको थियो । कवि एवम् पत्रकार सूर्यप्रकाश कँडेलले बञ्चरो, बिँड र हात शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा कवि राजेन्द्र घायल र भागीरथ ठाकुरले गीतिलयमा आफ्ना सिर्जना सुनाउनु भएको थियो ।

स्मल हेभन मोडल स्कुल आँपटारीकी छात्रा प्रशंसा पराजुलीले प्रकृति र वातावरणलाई हामी आफैँले बिगार्दै गइरहेको भावको कविता वाचन गर्नुभयो ।

कार्यक्रममा कविहरू अञ्जान प्रदीप, विद्या भण्डारी चिराग, गायत्री अधिकारी, प्रभाकर पण्डित, उपेन्द्र त्रिपाठी, परिवेश मुन्छे, सरला जोशी, उदय अधिकारी, ईश्वर कँडेल र गोविन्दराज विनोदीले कविता वाचन गर्नुभएको थियो ।

समूहका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको थियो ।