साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि रमेश क्षितिजकृत कविता सङ्ग्रह प्रेरणामूलक पुस्तक ‘अर्को साँझ पर्खेर साँझमा’ प्राप्त भएको छ ।

१ सय ४ पृष्ठमा बुनिएको पुस्तकमा ‘शिविरबाट फर्केपछि’, ‘मनभित्रको मानिस’, ‘अतीतका गीतहरू’, ‘अक्षरहरू’, ‘सिमानापारिबाट’, ‘सिल्भियासँग एक साँझ’लगायत ४० थान कविता सङ्ग्रहित छन् ।

“समग्रमा, अनुभूतिशील र संवेदनाजन्य छन्, रमेश क्षितिजका कविताहरू । ओझेल परेर रहेका वा दृष्टि नपुगेका एक वा अर्को प्रकारको खील वा टिस, एक वा अर्को प्रकारको दुखाइ र भत्काइ वा चर्काइको घोच्ने, बिझ्ने तर छोइने काव्य दंश भेटिन्छन्, उनका कविताहरूमा ।” पहिलो संस्करणको भूमिकामा तुलसी दिवस लेख्छन्, “जीवनका अँध्यारा र ओसिला तर अदृश्य भएर रहेका पक्ष र पाटाहरू बढी मात्रामा उद्घाटित गरिएको छ यहाँ । नवीन, मौलिक र जुठो नपारिएका निजी विम्बहरूको निर्माण र प्रयोग गर्दछन् उनी । विम्बहरू कहिले धेरै रङ्गहरूको सङ्ग्रह वा मालाजस्तो भएर आउँछन् भने कहिले सम्पूर्ण कविताका लागि एउटै समूल विम्ब प्रस्तुत हुन्छ ।”

पहिलो पृष्ठमा मनु मन्जिल लेख्छन्, “कवि रमेश क्षितिज यो देशको कविताको भाषा फर्काएर ल्याउने कवि हुन् । सङ्गीतले जोडिएको उनको चित्रात्मक भाषा जेन कविहरूको एकदम नजिक छ र नै चम्किला छन् उनका कविता – पेन्टिङमा गहिरो अध्यात्मको आभा देखिए जसरी । प्रेम, अध्यात्म र नोस्टाल्जियाका निम्ति उनको भाषा विशेष किसिमले बनेको लाग्दछ ।”

पुस्तक तेस्रो संस्करणको रूपमा बुक हिलबाट पुनर्मुद्रण भएको हो ।