साहित्यकार डा. देवी नेपाल प्राध्यापक बनेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य रहिसकेका नेपाल ‘नेपाल बाल्मीकि विद्यापीठ’का प्राध्यापक बनेका हुन् ।

नेपाल संस्कृति विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धामार्फत नेपाली विषयको प्राध्यापकका रूपमा डा. नेपालको पदोन्नति भएको हो ।

नेपाल संस्कृत विश्वविद्यालय दाङको सेवा आयोगको कार्यालयले लिएको परीक्षामा आन्तिरिक प्रतिस्पर्धाबाट चार जनाको प्राध्यापकमा पदोन्नति हुँदा खुल्लाबाट डा. नेपाली छानिएका हुन् ।

डा. नेपालले ०६१ सालबाट उप–प्राध्यापकका रुपमा बाल्मीकि विद्यापीठमा अध्यापन सुरु गरेका थिए । उप–प्राध्यापकबाट सह–प्राध्यापकमा बढुवा हुने समय नपुगेको अवस्था खुल्ला प्रतियोगितामार्फत नाम निकाल्दै नेपाल सह–प्राध्यपक बनेका थिए ।

नेपालले ०७२ सालमा ‘प्रगतिवादी नेपाली खण्डकाव्यमा द्वन्द्व विधान’ विषयमा विद्यावारिधि गरेका हुन् ।

०७५ सालदेखि नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्यका रुपमा एक कार्यकाल बिताए । आफ्नो कार्यकालमा साहित्य (लोकवार्ता र बालसाहित्य) विभागअन्तर्गत सबैभन्दा बढी पुस्तक प्रकाशन भएका थिए । प्रज्ञा प्रतिष्ठानमा आफ्नो कार्याकाल सकिएपछि उनी पुनः अध्यापन कर्ममा फर्किएका हुन् ।

बहुआयामिक व्यक्तित्वका धनी नेपालले साहित्यका विविध विधामा कलम चलाएका छन् । त्यसमध्ये उनको कवि व्यक्तित्व, त्यसमा पनि पद्य कवि व्यक्तित्व सबैभन्दा उँचो रहेको छ । नेपालका कविताकृति ‘माटो र मुटु’, ‘सलाद जस्तो देश’, खण्डकाव्य ‘श्रद्धाञ्जलि’, ‘पागल’, ‘समुद्र मन्थन’, यात्राकाव्य ‘भानु भन्दै हिँडिरहूँ’, साहित्यका विविन्न विधा लेख्न सिकाउने पुस्तक ‘लेखन शिल्प’लगायत दुई दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित छन् ।

त्यस्तै, उनका बाल शिक्षादेखि स्नातकसम्मका तीन दर्जन हाराहारी पाठ्य पुस्तकहरुसमेत प्रकाशित भइसकेका छन् । उनले नेपाली साहित्यको खोज–अनुसन्धान तथा समालोचनामा पनि उतिकै प्रभावकारी ढङ्गले कलम चलाएका छन् ।

नेपाल साहित्यपोस्टका नियमित स्तम्भकारसमेत हुन् । साहित्यपोस्टमा प्रकाशित उनका ‘सिर्जना पाठशाला’ तथा ‘मदन पुरस्कार विजेता’ नामका दुई स्तम्भ पाठकहरुमाझ लोकप्रिय छन् । साथै, नेपालले ‘सिर्जना पाठशाला’लाई ‘लेखन शिल्प’ पुस्तकका रूपमा प्रकाशनसमेत गरेका छन् ।