संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय साहित्य समाज, कोलोराडो शाखाले खुला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाद्वारा प्राप्त जानकारीअनुसार अनेसास र अमेरिकन नेपाललिज एसोसिएसन (एएनए) को संयुक्त तत्त्वाधानमा डेनभर सम्मेलनको अवसर पारी सो खुला कविता प्रतियोगिता आयोजन गरिन लागेको हो ।

कविता आउँदो जुन २६ सम्म inlscolorado@gmail.com मा पठाउन आग्रह गरिएको छ ।

कविताको शब्दसीमा अधिकतम २०० शब्द रहेको छ भने एक जना प्रतियोगीले एउटा मात्र कविता प्रतियोगिताका लागि प्रेषित गर्न सक्ने बताइएको छ ।

प्रतियोगितामा अनेसास कोलोराडो शाखा कार्यसमितिका पदाधिकारी तथा एएनए डेन्भर सम्मेलन २०२३ साहित्य समितिका सदस्यहरूले भाग लिन नपाउने बताइएको छ ।

राजनीतिक पूर्वाग्रह, गालीगलौज, सामाजिक सद्भावमा खलल पुर्याउने तथा अश्लील शब्दावली प्रयोग गरिएका कविता स्वतः अस्वीकृत हुने जनाइएको छ ।

कविताको विषयवस्तु तथा रूप गद्य वा पद्य जुनसुकैमा पठाउन सकिने छ भने कविता मौलिक र अन्त कतै प्रकाशित नभएको हुनुपर्ने बताइएको छ । प्रकाशित भएको पाइए वा अरू कसैको कविताको अंशको नक्कल ठहरिए स्वतः अस्वीकृत ठहरिने छ ।

कवितासँगै कविहरूले आफ्नो छोटो परिचय, पासपोर्ट आकारको तस्बिर र सम्पर्क ठेगाना पठाउन आग्रह गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट पाँच कवितालाई वाचनको अवसर दिइने र सोही पाँचमध्येबाट प्रथम, द्वितीय र तृतीय कविता घोषणा गरिने बताइएको छ । वाचनका लागि कवि स्वयं उपस्थित हुनुपर्नेसमेत जनाइएको छ ।

प्रतियोगितामा विजयी कवितालाई ३००, २०० र १०० तथा सान्त्वना अन्य दुई कवितालाई ५०-५० डलर प्रदान गरिनेछ ।

प्रतियोगितामा पठाइएका कविताहरू विभिन्न प्रकाशन संस्थामा प्रकाशन गर्ने अधिकार कविता प्रतियोगिता समितिसँग अधिकार सुरक्षित रहनेसमेत जनाइएको छ ।

प्रतियोगिताबारे थप जानकारीका लागि इमेल वा फोन नं. ७२०४८००३४७ मा जानकारीसमेत लिन सकिने अध्यक्ष सिटौलाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।