साहित्यपोस्ट पर्या-कविता प्रतियोगितामा कृष्ण बाउसेको कविता ‘डाइनोसरको भजन’ सर्वोत्कृष्ट घोषित भएको छ । साहित्यपोस्टमा प्रकाशित भएका पर्या–कविता (पर्यावरण कविता) हरुमध्येबाट पुरस्कृत गरिने पुरस्कारमा बाउसेको कविता सर्वोत्कृष्ट घोषित भएको हो  ।

विजय हितानको संयोजकत्वमा साहित्यकारद्वय डा. देवेन सापकोटा र बिमला तुम्खेवा सम्मिलित तीन सदस्यीय निर्णायक समितिले बाउसेको पर्या-कवितालाई सर्वोत्कृट घोषित गरेको हो ।

साहित्यपोस्टले गएको वर्षदेखि सुरू गरेको पर्या-साहित्य अभियानअन्तर्गत ०७९ चैतसम्ममा प्रकाशन भएका कविताहरूमध्येबाट सर्वोत्कृष्ट पर्या-कविताको छनौट गरिएको हो ।

बाउसेले ५ हजार रूपियाँ राशिको पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुहुनेछ ।

साहित्यपोस्टले ‘पर्यावरण साहित्य’लाई विशेष महत्त्वका साथ प्रकाशन गर्दै आएको छ । यसको सम्पादकका रूपमा पर्यावरण अभियन्ता विजय हितान रहनुभएको छ । यो पुरस्कारको प्रायोजन हितानले नै गर्नुभएको हो ।

हितानका अनुसार जेठ २७ गते आठौं वातावरण साहित्य गोष्ठीका अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा पुरस्कार हस्तान्तरण तथा सम्मान गरिनेछ ।

पढ्नुहोस् सर्वोत्कृष्ट कविताः

डाइनोसरको भजन !
– कृष्ण बाउसे

कहिल्यै नझरेको असिना झर्यो
कहिल्यै नपरेको पानी पर्यो
कहिल्यै नआएको बाढी आयो
कहिल्यै नगएको पहिरो गयो

तरल पानी चक्र भयो
सरल हावा वक्र भयो

तर, केही अनौठो नभएझैँ
सबै चिज स्वाभाविक भएझैँ
म आफ्नै सुरमा हिडिरहेँ

तापले सीमा नाघेपछि
हिमाल छोडेर हिउँ भागेपछि
कालो धुवाँले आकाश ढाकेपछि
जमिनलाई समुद्रले च्यापेपछि

मित्र ताप शत्रु भयो
टेक्ने धर्ती पत्रु भयो

तर, कुनै ठाँगेले नछुएझैँ
मनमा त्रासै नभएझैँ
सबै चिज स्वभाविक भएझैँ
म निद्रामा झैँ घुरिरहेँ
म आफ्नै सुरमा हिडिरहेँ

रुखहरू ठाडठाडै सुक्दा
नदिहरूलाई बगरले छोप्दा
ओजोनतहमा छिद्र हुँदा
सामुद्रिक जीवहरू विषाक्त पानीमा छट्पटाउँदै रुँदा

पहिले त
नबुझेरै टुलुटुलु हेरिरहेँ
पछि पछि
बुझपचाएर
मौकामा चौका हान्ने दाउ हेरिरहेँ

तर, चेत आएन ~
यसरी हेर्दाहेर्दै
हेर्ने आँखा नै हरायो भने ?
हेरिनेको छवि नै हरायो भने ?
हिँड्दा‑हिँड्दैका कदमहरूमा
गति नै हरायो भने ?

चेत आएन ~
हेर्दाहेर्दै
जङ्गलभरि नै
रुख ढाल्ने आराले खाँडो जगायो भने ?
हेर्दाहेर्दै
शहरलाई नै
प्लास्टिकको आहालले डुबायो भने ?
हेर्दाहेर्दै
आकाशभरि ढाकिएको कालो धुवाँले
वर्षाको सट्टा रगत छदायो भने ?
र हुँदाहुँदा
विकासको भूतले लखेटेर
ब्लाकहोलको डिलमै पुर्‍यायो भने ?

मेरै अभिमानको चितामा
हुर्हुर जलिरहेका
ए मेरा सपनाहरू !
ए मेरा बिपनाहरू !
आज म
तिमीहरूलाई मन खोलेरै भन्दैछु-
विकासको भूत चढेर मनोरोगी भएको छु म ।
झट्टै मेरो उपचार गराइहाल !
नत्र त
धुवाँले निसासिदै
गर्मीले छट्पटाउँदै
उजाड काख फिँजाएर बसेकी
आदिमाको तातो आँसुको पोखरीमा डुब्नुसिबाय
अब
केही बाँकी रहने छैन तिमी टुहुराहरूको भागमा !
न त मेरै साथमा पनि
डाइनोसरको भजन गाउँदै
तिमी सबैलाई
आफ्नो सति बनाएर लानुको
अर्को कुनै विकल्प बाँकी रहनेछ !