साहित्यपोस्ट पर्या-कविता प्रतियोगितामा वासुदेव अधिकारीको कविता ‘हिउँमारा तापमान’ सर्वोत्कृष्ट घोषित भएको छ । साहित्यपोस्टमा प्रकाशित भएका पर्या–कविता (पर्यावरण कविता) हरुमध्येबाट पुरस्कृत गरिने पुरस्कारमा अधिकारीको कविता सर्वोत्कृष्ट घोषित भएको हो  ।

विजय हितानको संयोजकत्वमा साहित्यकारद्वय डा. देवेन सापकोटा र बिमला तुम्खेवा सम्मिलित तीन सदस्यीय निर्णायक समितिले अधिकारीको पर्या-कवितालाई सर्वोत्कृट घोषित गरेको हो ।

साहित्यपोस्टले गएको वर्षदेखि सुरू गरेको पर्या-साहित्य अभियानअन्तर्गत ०७९ चैतसम्ममा प्रकाशन भएका कविताहरूमध्येबाट सर्वोत्कृष्ट पर्या-कविताको छनौट गरिएको हो ।

अधिकारीले १० हजार रूपियाँ राशिको पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुहुनेछ ।

साहित्यपोस्टले ‘पर्यावरण साहित्य’लाई विशेष महत्त्वका साथ प्रकाशन गर्दै आएको छ । यसको सम्पादकका रूपमा पर्यावरण अभियन्ता विजय हितान रहनुभएको छ । यो पुरस्कारको प्रायोजन हितानले नै गर्नुभएको हो ।

हितानका अनुसार जेठ २७ गते आठौं वातावरण साहित्य गोष्ठीका अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा पुरस्कार हस्तान्तरण तथा सम्मान गरिनेछ ।

पढ्नुहोस् सर्वोत्कृष्ट कविताः

हिउँमारा तापमान
– वासुदेव अधिकारी

बीस वर्षपछि
नाम्चे पुग्यो सोनाम
उसले हिमाल हेर्यो
हिमालको पयर हेर्यो
र धुरुधुरु रोयो
ऊ सँगसँगै रोयो हिमाल
उष्णताले बाफिएर
प्रदूषणले गाँजिएर
रुवाइको आत्मियताले बाँधिएर उनीहरु
नाङ्गाभुतुङ्गा केटाकेटीले
हेरिरहे तिनको रुवाइलाई
किन रोएका हँ सोनाम र हिमाल ?
किशोरहरुले कुरै बुझेनन् तिनको
किशोरहरुले आँसु नै देखेनन् तिनको
चकित भयो सोनाम
कहाँबाट मरुभूमि
बास बस्न आइपुग्यो हिमालको काखमा ?
किन माथिमाथि सर्दै गयो हिमाल ?
ऊ खूब टोलायो
हिउँको बर्को निकालेका पहाड
पग्लिएका हिउँका निला खोपिल्टा
हेर्यो
एक टक लाएर हेर्यो उसले
हिमाल ठुङ्दै आइरहेको उष्णता
हिमाल मास्दै आइरहेको तापमान
त्यहीँ पुगेर हेर्यो उसले
त्यहीँ गएर देख्यो उसले
कहाँबाट आयो हँ
हिमालमारा तातो ?
कुन पापिष्टले पठायो हँ
हिउँमारा तापमान ?
सोनाम सोधिरहेछ
सोलुको विज्ञान शिक्षकसँग
बात मारिरहेछ
भूगोल शिक्षकसँग
पाका पुराना सँगालीसँग ।

पग्लिरहेको हिमालको फेदमा
खरझैँ बल्न थाल्यो उसको हृदय
रोइरह्यो आणविक परीक्षक
बगिरह्यो तातो हावा
तातो हावामा
समुद्रका माछाको छटपटाहट
सुन्यो सोनामले !