साहित्यपोस्टमा प्रकाशित भएका पर्या–कविता (पर्यावरण कविता) हरुमध्येबाट पुरस्कृत गरिने सर्वोत्कृष्ट तीन कविताको घोषणा गरिएको छ । विजय हितानको संयोजकत्वमा साहित्यकारद्वय डा. देवेन सापकोटा र बिमला तुम्खेवा सम्मिलित तीन सदस्यीय निर्णायक समितिले सर्वोत्कृष्ट तीन पर्या-कविताको घोषणा गरेको हो ।
साहित्यपोस्टले गएको वर्षदेखि सुरू गरेको पर्या-साहित्य अभियानअन्तर्गत ०७९ चैतसम्ममा प्रकाशन भएका कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीनको छनौट गरिएको हो ।
घोषणाअनुसार डा. विप्लव ढकालको ‘भ्यागुताको बिहे’ प्रथम भएको छ । त्यस्तै, वासुदेव अधिकारीको हिउँमारा तापमान र कृष्ण बाउसेको डाइनोसरको भजन क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
पुरस्कृत स्रष्टाहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रूपियाँ राशिका साथमा प्रमाणपत्र पाउनु हुनेछ ।
त्यस्तै, दियेश रत्न शाक्यको बर्दिया निकुञ्जमा एकदिन र रमेश भट्टराईको जीव चिहान र मान्छे उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । उत्कृष्ट पाँचभित्र परेका कविताका सर्जकलाई सार्वजनिक कार्यक्रममा प्रमाणपत्र प्रदान गरिनेछ ।
साहित्यपोस्टले ‘पर्यावरण साहित्य’लाई विशेष महत्त्वका साथ प्रकाशन गर्दै आएको छ । यसको सम्पादकका रूपमा पर्यावरण अभियन्ता विजय हितान रहनुभएको छ । यो पुरस्कारको प्रायोजन हितानले नै गर्नुभएको हो ।
हितानले भन्नुभयो, ‘हाललाई ०७९ चैत मसान्तसम्म प्रकाशित पर्याकवितामध्येबाट तीन कवितालाई पुरस्कृत गर्ने घोषणा गरिएको छ । ०८० सालबाट वार्षिक रूपमा पुरस्कार प्रदान गर्दै पर्या–अभियानलाई निरन्तरता दिइनेछ ।’
हितानका अनुसार जेठ २७ गते आठौं वातावरण साहित्य गोष्ठीका अवसरमा काठमाडौंमा विजेताहरुलाई पुरस्कार हस्तान्तरण तथा उत्कृष्ट पाँचमा पर्न परेका कविहरूलाई सम्मान गरिनेछ ।
===
पढ्नुहोस् पुरस्कृत तीन कविताः
१. प्रथम कविताः भ्यागुताको बिहे
– विप्लव ढकाल
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
सिमसारमा
बजिरहेको होला नौमती बाजा !
शिरमा बाबरी फूलको मुकुट लगाएर
पाल्कीमा चढिसके होलान् दुलाहा राजा !
जलकुम्भी झारको गुन्द्रीमा बसेर
जुहारी खेलिरहेका होलान्
आदिवासी चराहरु !
छमछम बजाउँदै भुइँफूलको पाउजु
उडिसके होलान् लोकन्ती भँवरा !
हिलोमा ‘ट्यार्र ! … ट्यार्र !!’
मङ्गल गीत गाउँदै
सङ्गीतका राजकुमारीहरुले
बोकिसके होलान् सगुनको थाली !
हे गाइने किरा !
अँधेरी खोलामा जानु छ मैले
सिमसारतिर जानु छ,
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
म एउटा बूढो शङ्खे किरा
अहिलेसम्म बाटोमै घस्रिरहेको छु !
मेरो वरिपरि बसेर
रोइरहेका छन् धानचरीहरु !
बाटो छेकेर उनीहरु
प्रश्न गर्छन् मलाई—
‘हामीले त रोपेका थियौँ
कलकलाउँदो धानको बोट,
तर आज खेतमा
कसरी फल्यो प्लास्टिकको चामल ?
गोठमा भैँसी दुहुन गएकी थिइन् राजमती
तर आज बाल्टीमा
कसरी भरियो कोकाकोलाको झोल ?
काउलीको फूलमा बसेको माहुरी
पातमाथि झर्छ किन ?
निधारबाट पसिना खस्दा
दुबोको मुना मर्छ किन ?’
हे दमाईं किरा !
गैरी खेतमा जानु छ मैले
तालतलैया जानु छ,
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
बारीभरि लटरम्म फलेका छन्
चाउचाउका प्याकेटहरु !
जङ्गलमा किन दुश्मनहरु रोइरहेछन् ?
चिम्सा आँखाहरु रोइरहेछन् कतै
चुच्चा नाकहरु रोइरहेछन् !
अङ्गोछा खोलेर रोइरहेछन् कोही
टोपी झिकेर रोइरहेछन् !
उनीहरुको आँसुमा भरिएको छ साइनाइड
उनीहरुको शरीरबाट
झरिरहेको छ अजिनोमोतो !
गोजीमा नागरिकता जस्तो सुसाइड नोट बोकेर
सिमाना काटी कहाँ हराए तिनका सन्ततिहरु ?
जलकुम्भीको आहालभित्र
को गर्दै छ भातको राजनीति ?
साइत नबिगार भन्छु
सुन्दै सुन्दैनन् उनीहरु !
हे फकिरा !
लेकैको कानेमा जानु छ मैले
औलको मानेमा जानु छ !
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
===
२. द्वितीय कविताः हिउँमारा तापमान
– वासुदेव अधिकारी
बीस वर्षपछि
नाम्चे पुग्यो सोनाम
उसले हिमाल हेर्यो
हिमालको पयर हेर्यो
र धुरुधुरु रोयो
ऊ सँगसँगै रोयो हिमाल
उष्णताले बाफिएर
प्रदूषणले गाँजिएर
रुवाइको आत्मियताले बाँधिएर उनीहरु
नाङ्गाभुतुङ्गा केटाकेटीले
हेरिरहे तिनको रुवाइलाई
किन रोएका हँ सोनाम र हिमाल ?
किशोरहरुले कुरै बुझेनन् तिनको
किशोरहरुले आँसु नै देखेनन् तिनको
चकित भयो सोनाम
कहाँबाट मरुभूमि
बास बस्न आइपुग्यो हिमालको काखमा ?
किन माथिमाथि सर्दै गयो हिमाल ?
ऊ खूब टोलायो
हिउँको बर्को निकालेका पहाड
पग्लिएका हिउँका निला खोपिल्टा
हेर्यो
एक टक लाएर हेर्यो उसले
हिमाल ठुङ्दै आइरहेको उष्णता
हिमाल मास्दै आइरहेको तापमान
त्यहीँ पुगेर हेर्यो उसले
त्यहीँ गएर देख्यो उसले
कहाँबाट आयो हँ
हिमालमारा तातो ?
कुन पापिष्टले पठायो हँ
हिउँमारा तापमान ?
सोनाम सोधिरहेछ
सोलुको विज्ञान शिक्षकसँग
बात मारिरहेछ
भूगोल शिक्षकसँग
पाका पुराना सँगालीसँग ।
पग्लिरहेको हिमालको फेदमा
खरझैँ बल्न थाल्यो उसको हृदय
रोइरह्यो आणविक परीक्षक
बगिरह्यो तातो हावा
तातो हावामा
समुद्रका माछाको छटपटाहट
सुन्यो सोनामले !
===
३. तृतीय कविताः डाइनोसरको भजन !
– कृष्ण बाउसे
कहिल्यै नझरेको असिना झर्यो
कहिल्यै नपरेको पानी पर्यो
कहिल्यै नआएको बाढी आयो
कहिल्यै नगएको पहिरो गयो
तरल पानी चक्र भयो
सरल हावा वक्र भयो
तर, केही अनौठो नभएझैँ
सबै चिज स्वाभाविक भएझैँ
म आफ्नै सुरमा हिडिरहेँ
तापले सीमा नाघेपछि
हिमाल छोडेर हिउँ भागेपछि
कालो धुवाँले आकाश ढाकेपछि
जमिनलाई समुद्रले च्यापेपछि
मित्र ताप शत्रु भयो
टेक्ने धर्ती पत्रु भयो
तर, कुनै ठाँगेले नछुएझैँ
मनमा त्रासै नभएझैँ
सबै चिज स्वभाविक भएझैँ
म निद्रामा झैँ घुरिरहेँ
म आफ्नै सुरमा हिडिरहेँ
रुखहरू ठाडठाडै सुक्दा
नदिहरूलाई बगरले छोप्दा
ओजोनतहमा छिद्र हुँदा
सामुद्रिक जीवहरू विषाक्त पानीमा छट्पटाउँदै रुँदा
पहिले त
नबुझेरै टुलुटुलु हेरिरहेँ
पछि पछि
बुझपचाएर
मौकामा चौका हान्ने दाउ हेरिरहेँ
तर, चेत आएन ~
यसरी हेर्दाहेर्दै
हेर्ने आँखा नै हरायो भने ?
हेरिनेको छवि नै हरायो भने ?
हिँड्दा‑हिँड्दैका कदमहरूमा
गति नै हरायो भने ?
चेत आएन ~
हेर्दाहेर्दै
जङ्गलभरि नै
रुख ढाल्ने आराले खाँडो जगायो भने ?
हेर्दाहेर्दै
शहरलाई नै
प्लास्टिकको आहालले डुबायो भने ?
हेर्दाहेर्दै
आकाशभरि ढाकिएको कालो धुवाँले
वर्षाको सट्टा रगत छदायो भने ?
र हुँदाहुँदा
विकासको भूतले लखेटेर
ब्लाकहोलको डिलमै पुर्यायो भने ?
मेरै अभिमानको चितामा
हुर्हुर जलिरहेका
ए मेरा सपनाहरू !
ए मेरा बिपनाहरू !
आज म
तिमीहरूलाई मन खोलेरै भन्दैछु-
विकासको भूत चढेर मनोरोगी भएको छु म ।
झट्टै मेरो उपचार गराइहाल !
नत्र त
धुवाँले निसासिदै
गर्मीले छट्पटाउँदै
उजाड काख फिँजाएर बसेकी
आदिमाको तातो आँसुको पोखरीमा डुब्नुसिबाय
अब
केही बाँकी रहने छैन तिमी टुहुराहरूको भागमा !
न त मेरै साथमा पनि
डाइनोसरको भजन गाउँदै
तिमी सबैलाई
आफ्नो सति बनाएर लानुको
अर्को कुनै विकल्प बाँकी रहनेछ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।