
लेखक, समालोचक तथा त्रिविका उप–प्राध्यापक महेश पौड्यालको सम्पादकत्वमा साहित्यपोस्टको अङ्ग्रेजी प्रकाशन सुरु हुने भएको छ । साहित्यपोस्ट व्यवस्थापन समूहले पौड्याललाई अङ्ग्रेजी संस्करणको सम्पादकमा नियुक्त गरिएको जनाएको हो ।
पौड्यालको सम्पादकत्वमा प्रकाशन हुने अङ्ग्रेजी संस्करणको समूहका अतिथि सम्पादकका रुपमा लामो समय द काठमाडौं पोस्टका काम गर्नुभएका पत्रकार तथा लेखक शरद् प्रधान रहनुहुनेछ । साथै, अङ्ग्रेजी प्रकाशनको संयोजन कवि अनिल खतिवडाले गर्नुहुनेछ ।
‘‘साहित्यपोस्ट अङ्ग्रेजी संस्करणको सम्पादकमा महेश पौड्याललाई भित्र्याउन पाउँदा साहित्यपोस्ट परिवार गौरवान्वित रहेको प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘अतिथि सम्पादकका रुपमा शरद् प्रधानलाई पाउँदा हाम्रो अभियान सफल हुने कुरालाई थप बल पुगेको छ । नेपाली संस्करणझैं साहित्यपोस्टको अङ्ग्रेजी प्रकाशनले पनि पाठकको मन जित्ने कुरामा विश्वस्त बनाएको छ ।’’
१६ वर्षदेखि त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय अङ्ग्रेजी विभागमा प्राध्यापन गरिरहनु भएका महेश पौड्यालले विगतमा पाेखरा विश्वविद्यालय तथा नेपाल खुला विश्वविद्यालयमा समेत प्राध्यापन गरिसक्नुभएकाे छ । सन् २००८ मा उहाँले एमफिल तहमा पोखरा विश्वविद्यालय टप गर्नुभएको थियो । त्यस्तै २००५ मा त्रिविबाट स्नातकोत्तर तहमा विश्वविद्यालय टप गरेपछि नेपाल विद्याभूषणबाट विभूषित हुनुभएको थियो । उहाँले भारतको मणिपुर विश्वविद्यालयमा सन् २००२ मा बिए अध्ययनताका युनिभर्सिटी टपरका रूपमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो ।
पौड्यालले सन् २०१५ यता नेपाल प्रज्ञा प्रतिष्ठानको प्रकाशन रूपान्तरणको कार्यकारी सम्पादक, गोर्खाटाइम्सडटकमको प्रधानसम्पादक, नेपाल प्रज्ञा प्रतिष्ठानकै प्रकाशन समकालीन साहित्यको सम्पादन सदस्य आदि भएर आफ्नो साहित्यिक क्षमता प्रदर्शन गरिसक्नु भएको छ।
पौड्यालले अङ्ग्रेजी भाषाका स्कुले पाठ्यक्रमसमेत तयार पार्नुभएको छ । यसबाहेक उहाँका उपन्यास, कथा, कविता, नाटक लगायतका कृति प्रकाशित छन् । त्यस्तै, उहाँले नेपालीभाषाबाट अङ्ग्रेजीमा दुई दर्जन कृति अनुवाद गर्नुभएको छ भने अङ्ग्रेजीबाट नेपालीमा पनि उत्तिनै कृतिहरू अनुवाद गर्नुभएको छ । यसबाहेक उहाँले सम्पादन गर्नुभएका कृतिहरूको सङ्ख्या तीन दर्जन हाराहारी छन् ।
पौड्यालले जमर्को बाल साहित्य पुरस्कार, विमल स्मृति पुरस्कार, भानु साहित्य सम्मान, युवा वर्ष मोती पुरस्कारलगायतका विविध सम्मान र पुरस्कारसमेत प्राप्त गरिसक्नु भएको छ ।
अतिथि सम्पादक शरद् प्रधानले विगत चार दशकदेखि नेपाली साहित्यमा अनवच्छिन्नरुपमा कलम चलाउँदै आइरहनुभएको छ । विशेषगरी गद्य लेखनमा रुचि राख्ने प्रधानले नेपाली साहित्यकारहरूको समीक्षात्मक जीवनी नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेखिरहनु भएको छ । शरद् प्रधान र आर. डी शर्मा युयुत्सुको संयुक्त सम्पादनमा नगेन्द्र शर्माले नेपाली कथाहरू अंग्रेजीमा अनुवाद गर्नुभएको कथासङ्ग्रह The Sheet of Snow भारतको निराला प्रकाशनले प्रकाशित गरेको छ ।
प्रधानले आठपहरिया राई सम्बन्धी पुस्तक प्रसिद्ध कवि एवं लोकवार्ताकार तुलसी दिवससँग संयुक्तरूपमा सम्पादन गर्नुभएको छ । नेपालबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक पत्रिका द काठमाडौं पोस्टमा उपसम्पादक भएर सात वर्ष काम गर्नुभएका प्रधानले The Connection, Everest Visitor, FM( Fashion and Modeling), आस्था, नर्थ पोन्टर, नेपाल पर्यटन बोडको मुखपत्र आदिको सम्पादनसमेत गर्नुभएको छ ।
नेपाल पर्यटन बोर्डमा डेढ दशकसम्म मिडिया प्रमुख भएर काम गर्नुभएका प्रधानले बोर्डबाट प्रकाशित अधिकांश पुस्तक, पुस्तिका र पत्रिकाको सम्पादन गर्नुभएको छ । उहाँको साहित्य, संगीत र कलामाथि लेखेका सयौँ अङ्ग्रेजी लेखहरू नेपालका प्रमुख पत्रिकाहरूमा प्रकाशित छन् ।
संयोजक अनिल खतिवडा मुलतः कवि हुनुहुन्छ । उहाँ नेपाली र अङ्ग्रेजी दुबै भाषामा सराबरी कलम चलाउनु हुन्छ । आई.टी क्षेत्रमा संलग्न खतिवडासँग यसअघि समालोचकडटकममा काम गरेको अनुभव छ । उहाँकाे ‘उज्यालोका मालीहरू’ शीर्षकमा संयुक्त कवितासङ्ग्रहसमेत प्रकाशित छ ।
अङ्ग्रेजी संस्करणको प्रकाशन जुन १ (नेपाली समयअनुसार ७ बजेर १७ मिनेट) बाट सुरु हुने अङ्ग्रेजी प्रकाशनका संयोजक खतिवडाले जनाउनुभएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

