नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा काम गर्दै आएको (ई) पत्रिका साहित्यपोस्ट अङ्ग्रेजी संस्करणको प्रकाशन सुरु गर्ने भएको छ । तीन वर्षदेखि नेपाली भाषीबिच सर्वाधिक लोकप्रिय साहित्यपोस्टले आउँदो बिहीबार (जुन १) बाट अङ्ग्रेजी संस्करणको प्रकाशन सुरु गर्ने भएको हो ।

अङ्ग्रेजी संस्करणको कामकारवाही साहित्यपोस्ट अन्तर्गत रहेने अलग्गै समूह ‘साहित्यपोस्ट अङ्ग्रेजी विभाग’ले सञ्चालन गर्ने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘‘साहित्यपोस्टको नेपाली संस्करणबारे अब तपाईंहरुमध्ये धेरैलाई थाहै छ । नेपाली संस्करणको सफलताले डोर्याएर नै हामीलाई अङ्ग्रेजी संस्करण प्रकाशनको पूर्वसन्ध्यामा पुर्याएको छ । नेपाली तथा अङ्ग्रेजी भाषा–साहित्यको गहिरो ज्ञान हासिल गर्नुभएका व्यक्तिहरुको समूहले नेपाली संस्करणलाई जस्तै यसलाई पनि उचाई दिनुहुनेछ ।’’

साहित्यपोस्टले आफ्नो स्थापनाकालदेखि नै साहित्यका विभिन्न विधामा चासो राख्ने फरक–फरक रुची र उमेर समूहका पाठक तथा लेखकहरुलाई सम्बोधन गर्दै आएका छ । जसअन्तर्गत आइतबार ‘मुलुकबाहिर’अन्तर्गत नेपालबाहिर रहनुभएका नेपाली भाषीहरुका साहित्य सिर्जनालाई विशेष महत्त्वका साथ स्थान दिएको छ भने सोमबार ‘विश्व साहित्य’अन्तर्गत नेपाली पाठकका लागि विश्व साहित्य तथा समाचारहरु पस्किँदै आएको छ ।

त्यस्तै, मङ्गलबार, बुधबार र बिहीबार क्रमशः आख्यान, गैरआख्यान र काव्य विधाका साहित्य–सिर्जनाहरु प्रकाशित गर्दै आएको साहित्यपोस्टलाई शुक्रबार भने नवपुस्ताका लागि छुट्याएको छ । नवपुस्तामा साहित्य लेखन सुरु गरेकाहरु सिर्जना प्रकाशन गर्नुका साथै लेखककला तथा भाषा प्रशिक्षणका समाग्रीसमेत प्रकाशन गर्दै आएको छ ।

शनिबार भने ‘कला’अन्तर्गत नाटक, सिनेमा तथा चित्रकारिताका सामग्रीहरुको प्रकाशनमा साहित्यपोस्टले जोड दिएको छ ।

अङ्ग्रेजी भाषामा पढ्न र लेख्न सहज महसुस गर्ने नवपुस्ता तथा प्रवासमा रहेका नेपाली भाषी र उहाँहरुका सन्तानहरुलाई सम्बोधन गर्ने हेतुले अङ्ग्रेजी संस्करणसमेत सुरु गरिएको प्रधानसम्पादक कोइरालाले बताएका छन् ।

‘‘नेपालको सीमा बाहिर, अझ प्रवासमा ठुलो नेपाली समुदाय छ । पहिलो पुस्ताका रुपमा प्रवास पुगेकाहरुलाई त नेपालीमा पढ्न तथा लेख्न समस्या छैन, तर उहाँहरुको सन्तानलाई भने अङ्ग्रेजी पहिलो भाषा बन्न पुगेको यर्थाथलाई नकार्न सकिँदैन । नेपालीको सीमाबाहिर रहेको त्यही पुस्तालाई सम्बोधन गर्नु अङ्ग्रेजी संस्करणको प्रमुख एक उदेश्य हो ।’’, प्रधानसम्पादक कोइराला भन्नुहुन्छ, ‘‘नेपालभित्रै पनि नेपालीमा पढ्न तथा लेख्न असहज महसुस गर्ने पुस्ता बढ्दो छ । नेपाली भाषाबाट टाढा हुँदै गएको नेपालीभाषी पुस्तालाई अङ्ग्रेजी भाषाको सहायताले नेपाली भाषा, साहित्य, कला र संस्कृतिसँग जोड्ने हाम्रो ध्येय हो ।’’

साहित्यपोस्टले नेपाली भाषा र साहित्यमा नयाँ पुस्ताको चासो र झुकाव बढाउने तथा हौसला प्रदान गर्ने उदेश्यले पुरस्कार तथा सम्मानसमेत गर्दै आएको छ । नेपाली साहित्यमा आफ्नो पहिलो पुस्तक लेखी पदार्पण गरेका तीन डेब्यु लेखकलाई यो वर्ष काव्य, आख्यान र गैरआख्यानमा गरी ५०–५० हजार तीन पुरस्कार वितरण गर्दैछ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’, ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ शीर्षक अन्तर्गत पाँच–पाँच उत्कृष्ट कृतिहरुको छनौट सम्पन्न भइसकेको छ । निकट समयमै तीन विधाका उत्कृष्ट तीन कृतिको छनोट गरी ५० हजार पुरस्कार राशिको साथमा लेखकहरुलाई सार्वजनिक सम्मानसमेत गरिनेछ ।