म्याग्दी जिल्लाको करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याउँदै आएका पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनकथा झल्कने एउटा प्रेरणादायी पुस्तक सार्वजनिक भएको छ।

आइतबार काठमाडौंमा कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रममा पत्रकार शेखर खरेल, पत्रकार एवम् कवि भोजराज न्यौपाने, सञ्चारकर्मी रीता लिम्बु र लेखक पुनले संयुक्त रुपमा लाहुरेको सङ्घर्ष पुस्तक लोकापर्ण गर्नुभयो ।

पुस्तक लोकापर्णलगत्तै आयोजित अन्तरक्रियामा लाहुरे चामबहादुरको कर्म उदाहरणीय र प्रेरणादायी रहेको टिप्पणी गरियो। एउटा लाहुरेले आफ्नो समाजका लागि कतिसम्म योगदान गर्न सक्छ भन्ने कुराको नमुना पुन भएको उहाँहरूले बताउनुभयो । अन्तरक्रियाको सहजीकरण कवि न्यौपानेले गर्नुभएको थियो ।

पत्रकार खरेलले सरल भाषामा सुरुचिपूर्ण ढंगमा लेखिएको पुस्तक एकै बसाईमा पढिसकेको अनुभव सुनाउनुभयो ।

त्यस्तै सञ्चारकर्मी लिम्बुले आफू लाहुरे परिवारको सदस्य भएको बताउँदै समाजसेवामा जीवन अर्पण गर्ने चामबहादुरजस्ता थोरै लाहुरे भएको धारणा राख्नुभयो ।

कार्यक्रममा पर्यटन पत्रकार अमृत भादगाउँलेले करबाकेली क्षेत्र पर्यटनधाम बनिसकेको अनुभव सुनाए। उहाँले भन्नुभयो, ‘करबाकेलीलाई पर्यटकीय केन्द्र बनाउने नायक चामबहादुर नै हुन्।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ काफलडाँडाका चामबहादुरले जीवनका १५ वर्ष बेलायती सेनामा बिताउनुभयो । त्यसलगत्तै १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गर्नुभयो । त्यसपछिका दिनमा भने मातृभूमिको सेवामा जीवन समर्पित गर्दै आउनुभएको छ । उहाँले पुन समुदायका कुल देवता करबाकेली बाबाको अनुसन्धान, काफलडाँडामा करबाकेली थान, पाहुनाघर, पुन सामुदायिक सङ्ग्रहालय निर्माणको परिकल्पना र अगुवाई गर्नुभयो । साथै, पुनहिलदेखि बेनीबजार झर्ने पदमार्गलाई करबाकेली इको ट्रेकका रुपमा ब्रान्डिङसमेत गर्नुभयो ।

यति मात्र होइन, पुन जीवनशैलीमा आधारित दुईओटा चलचित्र निर्माण गर्नुभयो । ती दुवै चलचित्रमा खलपात्रको अभिनय गर्नुभएका चामबहादुर वास्तविक जीवनमा भने नायक बन्न पुग्नु भएको छ ।

पुन समुदायको पहिचानका लागि अगुवाई गर्दागर्दै उहाँले करबाकेली क्षेत्रको सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा अतुलनिय योगदान पुर्याउनुभएको छ । करबाकेली क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र पनि बनेको छ।

परिवारलाई बेलायतमा छाडेर वर्षका अधिकांश समय मातृभूमिको सेवामा खटिने चामबहादुर जस्ता उदाहरणीय एवम् प्रेरणादायी व्यक्ति हरेक गाउँमा भइदिए नेपालले छिट्टै काँचुली फेर्न सक्छ। रंगीन कलेवरमा छापिएको १७० पेजको यो पुस्तकको मूल्य ५०० रुपैयाँ राखिएको छ। पुस्तकको बिक्रीबाट आएको सतप्रशित रकम समाजिक काममा खर्च गरिने पुनले बताउनुभयो ।