राजधानीमा कविता सुन्न र सुनाउन कविहरु भेला हुनु नौलो कुरो होइन । तर फरक–फरक पुस्ताका प्रतिनिधि कविहरु जुटेर हार्दिकताका साथ कविता एकअर्काका कविता सुन्नु र सुनाउनु भने विरलै हुने संयोग हो । जेठ १५ गते अर्थात् सोमबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा यही विरलै हुने संयोग हुँदैछ । एकै मञ्चमा तीन पुस्ताका तीन प्रतिनिधि कविहरुले कविता सुनाउँदैछन् ।

तीन पुस्तकका कविहरुलाई एउटै मञ्चमा उभ्याउने काम जरुवा क्रियसन फर क्रिएटिभिटीले गरेको हो । तीन पुस्ताका तीन कविलाई एउटै मञ्चमा उभ्याउने उदेश्यसहित सुरु गरिएको यो कार्यक्रममा अभिभावक पुस्ता, अग्रज पुस्ता र अनुज पुस्ताले एउटै मञ्च साझा गर्नेछन् । कार्यक्रमको संरचनाअनुसार एक कविले ५ वटा कविता सुनाउनेछन् ।

कवितामा तीन पुस्ताको पाँचौँ शृङ्खलामा वरिष्ठ कवि उषा शेरचनका साथमा दिपा राई पुन र देवव्रत उभिने भएका छन् । तीन पुस्ताका यी तीन कविले आफ्नो पुस्ताको प्रतिनिधित्व गर्दै एकार्कालाई कविता सुनाउने र सुन्ने छन् ।

कार्यक्रममा तीसको दशकबाट कविता लेख्न थालेकी अग्रज पुस्तालाई प्रतिनिधित्व गर्ने कवि उषा शेरचन वि.स. २०१२ मा पोखरास्थित नालामुखमा जन्मिएकी हुन् । उनी मुलतः काव्यिक विधामा कलम चलाउछिन् । नेपाली साहित्यमा मुक्तक लेखनमा विशिष्ठ योगदान पुर्याएकी शेरचन ‘मुक्त साम्राज्ञी’का रुपमा पनि परिचित छिन् । शेरचनका नजन्मेका आस्थाहरु (कवितासङ्ग्रह), अक्षरहरुका शिविरबाट (मुक्तकसङ्ग्रह), सर्वकालीन पीडा र जागृतिका शंखघोष (कवितासङ्ग्रह), तेस्रो रङ (कथासङ्ग्रह), आँधी (उपन्यास) लगायत दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

दोस्रो पुस्तालाई प्रतिनिधित्व गर्दै मञ्चमा कवि तथा गीतकार दिपा राई पुन उभिनेछिन् । विशेषतः कविता तथा गीत लेखनमा आफ्नो बेग्लै हस्ताक्षर बनाउन सफल पुनको जन्म ०२५ सालमा भएको हो । पुनका ‘छुटेको बागदात’, ‘स्पन्दनका रागहरु’लगायत कवितासङ्ग्रहका साथै केही गीति एल्बमहरुसमेत प्रकाशनमा आइसकेका छन् । उनका गीत तथा कविताको केन्द्रमा प्रकृति र प्रेम विशेष रुपमा प्रकट भएको पाइन्छ, यो नै उनको काव्यिक विशेषता पनि हो ।

अनुज पुस्तालाई प्रतिनिधित्व गर्दै मञ्चमा कवि देवव्रत उभिनेछन् । पछिल्लो समय आफ्नो पहिलो कृतिका रुपमा ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ कवितासङ्ग्र प्रकाशनमा ल्याएका देवव्रत पेसाले पत्रकार हुन् ।

‘कवितामा तीन पुस्ता’को चौथो शृङ्खलाबाट यस साहित्यिक यज्ञमा मिडिया पार्टनरका रुपमा साहित्यपोस्ट (ई) दैनिक पनि जोडिएको छ ।

हरेक दुई महिना हुँदै आएको यस कार्यक्रममा आफ्नो पुस्ताको प्रतिनिधित्व गर्ने कविहरुलाई सम्मानजन पारिश्रमिक समेत दिइँदै आइएको छ । कार्यक्रमको चारवटा शृङ्खलाहरु सफलताका साथ सम्पन्न भइसकेका छन् ।

कविहरु जेठ १५ गते (सोमबार) कालिकास्थानस्थित सर्वनाम थिएटरमा सुनिने छन् । १ सय रुपियाँको टिकटमा स्रोताले तीन पुस्ताका तीन कविलाई एकै ठाउँ, एकैपटक सुन्न पाउने छन् ।