तनहुँ, जेठ १३/ सेतीकाली साहित्य संगमद्वारा प्रकाशित मुखपत्र “सेतीकाली साहित्य यात्रा” विमोचन एवं ४१ औं काव्य श्रृङ्खला जेठ १३ गते शनिबार भिमाद, तनहुँमा सम्पन्न भएको छ।

सेतीकाली साहित्य संगमका अध्यक्ष नारायण कैलाश सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि आकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।

विशिष्ट अतिथिमा त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक सूर्यभक्त सिग्देल र युवा कवि दिवाकर भट्टराई रहनुभएको थियो। अतिथि इन्दिरा खड्का, कृष्ण प्रसाद सिग्देल, चन्द्र प्रकाश सुवेदी, माधव प्रसाद अधिकारी, नरेन्द्र थापा, तुलसी सिग्देल, रेणुका खनाल,लीला खनाल,सरद गैह्रे,सूर्य प्रसाद चापागाईं, श्रीकान्त उपाध्याय, केदारनाथ पराजुली, मन बहादुर सारु, सुरज लम्साल लगायत ५० बढी साहित्यकारको उपस्थिति रहेको कार्यक्रममा काव्य वाचन गरिएको थियो।

ब्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि आकाश अधिकारीले मुखपत्रको विमोचन गर्नुभएको थियो । समीक्षक दिवाकर भट्टराईले सेतीकाली क्षेत्रको सांस्कृतिक, सामाजिक, आन्तरिक पर्यटनमा जोड दिने रचना समेटेकोमा मुखपत्र दस्तावेजको रुपमा जीवित भएको र पाठकको नजरमा पुरातन भन्ने सम्भावनाबाट मुक्त हुनुपर्ने कुरामा जोड दिनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि आकाश अधिकारीले मोफसलमा रहेर पनि साहित्यमा नवीनतम दस्तावेजको रुपमा प्रस्तुत “सेतीकाली सहित्य यात्रा”लाई शुभकामना दिँदै आगामी दिनमा साहित्यका माध्यमले सबै क्षेत्रलाई समेट्नुपर्ने धारणा राख्नुभएको थियो।

सेतीकाली साहित्य संगमका अध्यक्ष नारायण कैलाश सिग्देलले कार्यक्रमको समापन गर्दै आगामी अंकमा परिस्कृत गर्दै अग्रजदेखि अनुजसम्मका रचना समेटेर वार्षिक रुपमा सेतीकाली साहित्य यात्रा प्रकाशन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। दिलनाथ पराजुलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन ध्रुवराज सुवेदीले गर्नुभएको थियो।