धरानका कवि विमल गुरूङको स्मृतिमा स्थापित कवि विमल गुरूङ स्मृति पुस्तकालयले नेपाली वाङ्मयको उन्नयनका लागि स्वदेश र विदेशमा रहेका साहित्य साधक, लेखक, कवि, साहित्यकारलाई आफ्ना कृति दर्ताका लागि आह्वान गरेको छ ।

दुई लाख रूपैयाँ नगद राशीको यो पुरस्कारका लागि जुनसुकै विधामा २०७९ सालभरि प्रकाशित भएका कृतिहरू पुरस्कारयोग्य हुने बताइएको छ ।

पुरस्कारका लागि चार प्रति पठाउन आग्रह गरिएको छ।

उत्कृष्ट ठहरिएको कृतिलाई २०८० कात्तिक १९ गते कवि विमल गुरूङ स्मृति युवा कविता महोत्सवका अवसरमा पुरस्कृत गरिने कवि विमल गुरूङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरूङद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।