साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई कवि अनिता लामाको तेस्रो कविता सङ्ग्रह “आतुङ” प्राप्त भएको छ ।

९४ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘आमाबुबा, आजकाल हिमाल देखिनै छाड्यो, निष्ठा, भिडियो कल’लगायत २७ वटा लामा कविता र ‘युद्ध, इमान, लुङ्गी, मृत्यु, भट्टी’लगायत १७ वटा छोटा कविता सङ्ग्रहित छन् ।

मेरो कुरमा लेखिएको छ, “कवितामा विचार आएन, तन्दुरुस्तता आएन भनेर आफैलाई पनि बोझ लाग्छ लेखेका कविताहरू । म यसै पनि बिरामी भइरहने मान्छे, त्यसैले कविता पनि अलिक बिरामी र रुन्चे भयो भन्छन् कि भन्ने अनुमान गर्छु । तर भोगिरहेको समयको ऐना न हो अभिव्यक्ति पनि । समय कहाँ तन्दुरुस्त छ ? कहाँ विचार विवेकवान छ ? कहाँ खुसी, सन्तुष्टि छ ? समयको चित्र जो छ, क्यान्भासमा पनि त्यही उत्रिन्छ । त्यसैले यो तेस्रो कविता कृतिमा पारिवारिक सम्मोहन र छोरी हुनुको कारणले निर्लज्ज, निर्विवेक समाजले गरेको दोहनलाई पनि अलि बढी छोइएको छ भन्ने मलाई लाग्छ । ‘देश’ मेरो लागि सबैभन्दा सर्वश्रेष्ठ शब्द हो । देश नछोई म केही भन्न, लेख्न सक्दै सक्दिन ।  देश मेरो कृतिमा शक्तिशाली बनेर उठेकै र उठाउने कोसिसमै पाउनुहुन्छ । तेस्रो कविता कृतिमा आइपुग्दासम्म पनि कविता लेखेर असाध्यै सन्तुष्ट छु भन्ने हिम्मत आइरहेको छैन । त्यसैले सङ्ख्याहरू थपिन्छन्, गुणात्मकता कति थप्न सकेँ, तपाईंहरूले भन्नै पर्दछ । नत्र किन लेखिरहनु कविता ? किन छापिरहनु यस्तरी ?”

आतुङ फाउण्डेसनले प्रकाशनमा ल्याएको यस पुस्तकको मूल्य १ सय ६५ रुपियाँ रहेको  छ ।