
सुन्दर नगरीको उपमा पाएको पोखरामा कला साहित्यका अनेक गतिविधि हुने गर्छन् ।
यसपटक भने पाँच दिवसीय लेखन कार्यशाला हुने भएको छ ।
पोखरा गैह्रापाटनको बुकमार्टमा यही जेष्ठ १२ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको आयोजना नौलो बहसले गरेको हो ।
पुस्तक परिचर्चा लगायतका साहित्यिक गतिविधि गर्दै आएको सो संस्थाले लेखनमा रुचि भएका नवोदित स्रष्टाहरूलाई लक्षित गर्दै कार्यशाला आयोजना गरेको हो ।
यसअघि यही संस्थाले वैशाखमा कुमार नगरकोटीसँग आख्यान लेखन कार्यशाला सम्पन्न गरेको थियो ।
व्यावसायिक एवं सिर्जनात्मक लेखनका विविध विषयहरू सो कार्यशालाको सूचीमा समेटिएको छ ।
लेखन र पठन संस्कृतिका सम्बन्धमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले आयोजना गरिएको सो कार्यशाला आगामी दिनमा पनि जारी रहने कुरा संस्थाका सह-संयोजक अनुज कुलुङले बताउनुभयो।
यसअघि पोखरामै सम्पन्न कार्यशालमा प्रशिक्षार्थीहरूको उत्साहपूर्ण सहभागिताका कारण यसपटक पनि कार्यक्रम आयोजना गर्न हौसला मिलेको कुरा कुलुङले बताउनुभयो ।
रुचि हुँदैमा लेख्न सजिलो छैन । लेखनमा हुन सक्ने गल्ती र त्यसबाट जोगिने तरिकाहरू, लेखनलाई प्रभावकारी बनाउने सूत्रहरू, स्तरीय लेखनका लागि के कस्ता उपाय अपनाउन सकिन्छ आदि विषयहरू कार्यशालाबाट सिक्न पाएको कुरा यसअघि सम्पन्न कार्यशालामा सहभागीहरूले बताएका छन् ।
यस्तै, लेख्न शुरु गरेका र लेख्न चाहनेहरूका लागि यस्तो कार्यशाला अत्यन्त फलदायी हुने पनि उनीहरूले बताए । सो कार्यशालाको सहजीकरण लेखक दीपक पराजुलीले गर्नु हुने बताइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

