नेपाली साहित्य समाज र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको संयुक्त आयोजना न्युजिल्यान्डको अकल्यान्डमा सम्पन्न एक साहित्यिक कार्यक्रममा नेपाली साहित्य समाज न्युजिल्यान्डका आजीवन सदस्यहरूलाई सम्मान गरिएको छ ।

सम्मानित हुनुहुने आजीवन सदस्यहरू पशुपति कार्माचार्य, श्रीधर वस्न्यात, बाबुराजा महर्जन, उद्घव अधिकारी, कमलप्रसाद श्रेष्ठ, डा. भोला प्रधान, प्रा. पीताम्बर शर्मा दाहाल, विनोद भौकाजी, इन्द्र प्रसाद पोख्रेल, विनोद आचार्य, डा. सन्तोष भण्डारी, गोपाल पौडेल, र सविना चौलागाईंलाई नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा.वीरेन्द्र केसीले आजीवन सदस्यता प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने उपाध्यक्षद्वय युवराज भण्डारी र नमिता दवाडीले क्रम्स खादा र टोपी लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।

त्यस्तै डा.वीरेन्द्र केसी, युवराज भण्डारी, नमिता दवाडी र टीका रेग्मीलाई नेपाली साहित्य समाज न्युजिल्यान्डका संथापक अध्यक्ष पशुपति कर्माचार्यले आजीवन सदस्यता प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने साहित्यकार प्रा. पिताम्बर शर्मा दाहालले टोपी लगाइदिएर र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका अध्यक्ष उद्घव अधिकारीले खादा लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।

नेपाली साहित्य समाजका वरिष्ठ सल्लाहकार श्रीधर बस्न्यातको संयोजनमा सञ्चालित उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका अध्यक्ष उद्घव अधिकारीको प्रमुख आतिथ्य र साहित्यकार प्रा. पीताम्बर शर्मा दाहालको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रा. पीताम्बर शर्मा दाहाल र पशुपति कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गर्नु भएको सो कार्यक्रममा न्युजिल्यान्ड नेपाल सोसाइटीका अध्यक्ष डा. सन्तोष भण्डारी, न्युजिल्यान्ड नेप्लिज एशोसिएसनका सचिव डा. श्रृति सिंह र अवैतनिक वाणिज्यदूत दिनेश खड्काले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा अकल्यान्ड लगायत न्युजिल्यान्डका विभिन्न ठाउँहरूबाट आउनुभएका सत्तरी जना जति नेपाली भाषा र साहित्य प्रेमीहरूको उपस्थिति थियो भने पन्ध्र जना स्रष्टाहरूले रचना वाचन गर्नु भएको थियो ।

बिचबिचमा नेपाली पोशाकमा सजिएका कलाकारहरूद्वारा प्रस्तुत नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

सम्मान कार्यक्रममा उपस्थित हुन असमर्थ हुनुहुने आजीवन सदस्यहरू प्रा. डा. राजेश ढकाल, डा. भुवनेश्वर ढकाल, शैलेश कर्माचार्य, विष्णु पोख्रेल र गोपालप्रसाद कँडेललाई अर्को कार्यक्रममा सम्मान गरिने जानकारी गराउँदै कार्यक्रमका सभाअध्यक्ष डा. वीरेन्द्र केसीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।