काव्य लेखेर नेपाली साहित्यमा पदार्पण गरेका लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७९’का लागि छोटो सूची जारी गरिएको छ । यो सूचीमा पहिलो कृतिका रूपमा काव्य (कविता, गजल, मुक्तक, महाकाव्य आदि) लेखेका पाँच लेखक समावेश छन् ।

कवितामार्फत् आफ्नो अलगै पहिचान बनाइसकेका कवि मिमबहादुर परियारको पहिलो कृति, ‘कर्नाली हाँस्दो छ’ पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।

पुस्तकमा सङ्ग्रहित कविताहरुमा राज्यबाट अपहेलित कर्णाली तथा जातव्यवस्थाबाट प्रताडित दलित समुदायको भावना मुखारित भएर आएका छन् । कविताका माध्यमबाट परियार मानवताविरोधी जातीय छुवाछुत विरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । अझ भन्दा, राज्य–सत्ता विरुद्ध धाबा नै बोलेका छन् ।

समता बुक्सले प्रकाशनमा ल्याएको कविताकृतिमा ३५ वटा कविताहरु सङ्ग्रहित छन् ।

छोटो सूचीमा मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’सँगै रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’ र  मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’ रहेका छन् ।

यसअघि ०७९ सालमा प्रकाशित डेब्यु लेखकका ४२ काव्य कृतिहरूबाट ११ कृतिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच काव्य विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । ती तीन विधाका तीन कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।