काव्य लेखेर नेपाली साहित्यमा पदार्पण गरेका लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७९’का लागि छोटो सूची जारी गरिएको छ । यो सूचीमा पहिलो कृतिका रूपमा काव्य (कविता, गजल, मुक्तक, महाकाव्य आदि) लेखेका पाँच लेखक समावेश छन् ।

मोरङ निवासी कवि रोहिणी रसिककृत छन्दबद्ध कवितासङ्ग्रह ‘छन्द आराधना’ पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।

राष्ट्रिय एकता र स्वाधिनताको पक्षमा तथा सबै खाले देशद्रोहको विरुद्धमा मुखरित यो काव्यकृति रसिकको पहिलो हो । सङ्ग्रहित कविताहरुले साझा संस्कृति, सामाजिक मेलमिलाप, धार्मिक तथा साँस्कृतिक सहिष्णुताको वकालत गर्छन् ।

कविताकृति विविध छन्दका ७२ कविता सङ्ग्रहित छन् । पुस्तकलाई रावासावा प्राज्ञिक समाज, नेपालले प्रकाशनमा ल्याएको हो ।

छोटो सूचीमा रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’सँगै प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’, मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’ र  मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’ रहेका छन् ।

यसअघि ०७९ सालमा प्रकाशित डेब्यु लेखकका ४२ काव्य कृतिहरूबाट ११ कृतिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच काव्य विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । ती तीन विधाका तीन कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।