काव्य लेखेर नेपाली साहित्यमा पदार्पण गरेका लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७९’का लागि छोटो सूची जारी गरिएको छ । यो सूचीमा पहिलो कृतिका रूपमा काव्य (कविता, गजल, मुक्तक, महाकाव्य आदि) लेखेका पाँच लेखक समावेश छन् ।

कवि प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’ पुरस्कारको छोटो सूचीमा परेको छ ।

अनुभूति र दर्शनको मौलिक संयोजन रहेको कविताकृति ज्ञवालीको पहिलो पुस्तक हो । कविताहरुमा शून्यवादी बौद्ध दर्शन, गीता दर्शन तथा जीवन दर्शन भरपूर मात्रामा पाइन्छ । कृतिमा आधुनिक संस्कृतिसहित धर्म, दर्शन र राष्ट्रभक्ति प्रखर रुपमा मुखरित भएका छन् ।

५९ थान कविताहरु सङ्ग्रहित कविताकृतिलाई शब्दार्थ प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो ।

छोटो सूचीमा प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’सँगै मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ र  मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’ रहेका छन् ।

यसअघि ०७९ सालमा प्रकाशित डेब्यु लेखकका ४२ काव्य कृतिहरूबाट ११ कृतिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच काव्य विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । ती तीन विधाका तीन कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।