काठमाडौँ / नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा ,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिक शास्त्रको सर्वोच्च निकाय नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान कार्यसमितिले बृहत् रूपमा प्राज्ञिक कार्यसम्पादन गरिरहेको छ।
त्यसैअनुरूप नेपाल वैकल्पिक अध्ययन समाजसँगको सहकार्यमा “भ्रष्टाचारको अर्थ राजनीति” विषयक विमर्श कार्यक्रम सम्पन्न गर्यो।
नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले सांस्कृतिक आयामको विश्लेषण नगरी भ्रष्टाचारलाई बुझ्न नसकिने बताउँदै भ्रष्टाचार न्यायिक, प्राज्ञिक, नीतिगत, वैचारिक र संस्थागत लगायतका अनेकौँ रूप र स्वरूपमा प्रकट हुने बताउनुभयो । उहाँले तिनको निर्मुल पार्न सके मात्रै देशको समुन्नति हुने बताउनुभयो ।
सो विषयमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूले अनुचित ढङ्गबाट आर्जन गरेको सम्पत्ति नै भ्रष्टाचार भएको बताउनुभयो । नेपालमा भ्रष्टाचार अम्मल जस्तै बनेको टिप्पणी गर्दै उहाँले यसको नियन्त्रण र नियमन कडाइका साथ गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यपत्रमा भ्रष्टाचारको परिभाषा, स्वरूप, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका संस्थागत भ्रष्टाचारहरूबारे उल्लेख गरिएको छ।
यसैक्रममा न्यायाधीश बलराम केसीले नीतिगत भ्रष्टाचार तीव्र रहेको बताउँदै यसको खारेजी र भ्रष्टाचारीको सामाजिक बहिष्कार अनिवार्य रहेको टिप्पणी गर्नुभयो ।
यस्तै वरिष्ठ पत्रकार गुणराज लुइँटेलले नेपालमा भ्रष्टाचारको इकोसिस्टम चलिरहेको र नीतिगत भ्रष्टाचार पनि त्यत्तिकै मौलाइरहेको धारणा राख्नुभयो ।
महिला अधिकारकर्मी नितु पोखरेलले भ्रष्टाचारको कुनै लिङ्ग र भूगोल नहुने बताउँदै राज्य असफल हुनुमा भ्रष्टाचार प्रमुख कारण रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरूको जिज्ञासाबारे कार्यपत्र प्रस्तोता क्षेत्रीले जवाफ दिनुभएको थियो। राजनीतिक विश्लेषक तथा संविधानसभा सदस्य हरि रोकाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२२ कार्तिक २०८२, शनिबार 









