काठमाडौं / एमआरआई मेसिनको आविष्कारक रेमोन्ड वाहन डामाडियानको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ कथालयले प्रकाशनमा ल्याएको छ ।

विमलकुमार सुवेदीद्वारा अनूदित पुस्तकको सम्पादन भिक्टर प्रधानले गरेका हुन् । यसमा थोमस शाहिन्यानका चित्र छन् ।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो ।
जसको अंग्रेजी शीर्षक “The Magic Window” छ । यसका मूल लेखक न्यून टोरोस्यान हुन् ।

मानिस अस्तित्वमा आएपछि उसलाई विभिन्न रोगव्याधिले पनि सताउन थाल्यो ।

औषधिमूलोले ठीक नहुने रोगका लागि शरीरभित्रका अंगको अवस्था बुझ्नुपर्ने भयो, त्यसका लागि जर्मन वैज्ञानिक विलहेम रन्टगनले एक्स–रे प्रविधिको विकास गरे । तर, यसले उत्पन्न गराउने विकिरणले शरीरमा केही असर देखिएपछि शल्यचिकित्सकहरू नयाँ आविष्कारतिर लागे । त्यही खोजको परिणाम हो– एमआरआई (म्याग्नेटिक रिजोनेन्स इमेजिङ) । रेमोन्ड डामाडियानले सन् १९७७ मा यो मेसिनको आविष्कार गरेका हुन् ।

उनको यो नयाँ विकासप्रति अन्य वैज्ञानिकहरू विश्वस्त थिएनन् । यो मेसिनले कहिल्यै काम गर्दैन र भौतिक विज्ञानको सिद्धान्तभन्दा बाहिर छ भनेर दाबी गरेका थिए । तर, रेमोन्ड निरन्तर आफ्नो लक्ष्यमा अघि बढिरहे र सफलता हासिल गरे । सन् २००३ मा एमआरआई प्रविधिसमबन्धी अनुसन्धान गरेबापत अन्य दुई अनुसन्धातालाई नोबेल पुरस्कार दिइए पनि रेमोन्डलाई छुटाइएको थियो ।

कुशाग्र बुद्धिका रेमोन्ड न्युयोर्कमा जन्मिएका हुन् । गणितप्रति उनको रुचि कसरी बढ्यो ? कसरी भायोलिन बजाउन सिके ? अर्मेनियाली परिवारमा जन्मिएका उनी कसरी जातिहिंसाबाट बचेका थिए ? र, किन वायुसेवामा समेत सामेल भए ? यस्ता जिज्ञासाको जवाफ यो संक्षिप्त बालजीवनीमा पाइन्छ ।

यो पुस्तक ६ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, छलफल गर्न तथा ९ वर्षमाथिका बालबालिकाले आफैँ अध्ययन गर्न सक्नेछन् । नेपाली र अंग्रेजी दुवै भाषामा २८ पृष्ठ रहेको पुस्तकको मूल्य २ सय ८० रुपैयाँ राखिएको छ ।