काभ्रे, जेठ ७ / जनमत वाङ्मय प्रतिष्ठान, बनेपाले एक विशेष साहित्यिक समारोहको आयोजना गरी सम्मान अर्पण गरेको छ ।
जनमत मासिकको विशेष कार्यकक्षमा चर्चित निबन्धकार–नियात्राकार युवराज नयाँघरे सम्मानित हुनुभएको छ ।

निबन्धकार नयाँघरेलाई प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले दीपा जनमत सम्मान प्रदान गर्नुभयो । नगदराशि, सम्मानपत्र, दोसल्ला, जनमत पदकसहित प्रतिष्ठानबाट प्रकाशित मानक ग्रन्थहरू उपहारका रुपमा प्रदान गरिएको थियो ।

समारोहमा सम्मान अर्पण गर्दै प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले निबन्धकार नयाँघरेको सिर्जनशील साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो ।

समारोहमा प्रतिष्ठानका सदस्यहरू भारती श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, रामसुन्दर देउजा, सोमकाजी शाक्य, श्रीकृष्ण श्रेष्ठ लगायतले नेपाली साहित्य, सम्मानित श्रष्टाबारे आफ्नो मन्तव्य राख्नुभएको थियो ।

सम्मानित लेखक नयाँघरेले नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गरेर जनमत वाङ्मय प्रतिष्ठानले सराहनीय काम गरेको धारणा राख्नुभएको थियो ।

दीपा जनमत सम्मान यसअघि विशिष्ट साधकहरूले प्राप्त गरिसक्नु भएको छ ।