‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०७९’को छोटो सूची सार्वजनिक गरिएको छ । आख्यान लेखेर नेपाली साहित्यमा पदार्पण गरेका लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने पुरस्कारका लागि छोटो सूची जारी गरिएको हो । यो सूचीमा पहिलो कृतिका रूपमा आख्यान लेखेका पाँच लेखक समावेश छन् ।

पुरस्कारको छोटो सूचीमा इन्जिनियर  बिक्रम भक्त जोशीको पहिलो कृति, निबन्धात्मक कथा (निकथा) सङ्ग्रह ‘चोभार ब्लुज’ पर्न सफल भएको छ ।

नेपाली साहित्य लेखनमा बैङ्करसमेत रहिसकेका जोशी मात्र नयाँ होइन, विधागत रुपमा ‘निकथा’ पनि आख्यान अन्तर्गत कमै लेखिएको विधा हो । जोशीका कथाभित्र बागमती सभ्यताको इतिहास भेटिन्छ । बागमती सभ्यताको केन्द्रमा रहेको काठमाडौंको आञ्चलिकता कथाहरुको प्राण बनेर रहेका छन् । सङ्ग्रहित कथाहरुमा नेवारी जनजीवन, सभ्यताका अंश छन्, र आधुनिकता पसेसँगै काठमाडौंले गुमाएका अर्गानिकीकरणको अनौठा पीडा पनि छन् ।

१९ थान कथा सङ्ग्रहित ‘चोभार ब्लुज’लाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो ।

पुरस्कारको छोटो सूचीमा बिक्रम भक्त जोशीको निकथासङ्ग्रह ‘चोभार ब्लुज’सँगै हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’, विष्णु ढकालको उपन्यास ‘जौवा’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’ र खगेन्द्र भट्टराईको कथासङ्ग्रह ‘अँध्यारो कुनो’ रहेका छन् ।

यसअघि ०७९ सालमा प्रकाशित डेब्यु लेखकका ४४ आख्यान कृतिहरूबाट १२ कृतिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच आख्यान कृतिको छोटो सूची तिनै १२ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिका सर्जकहरूले आख्यान लेखनमा राम्रो सम्भावना देखाएको बताएका छन् । उनले भनेका छन्, ”१२ आख्यान विधाका पुस्तकको लामो सूचीबाट ५ पुस्तकको छनौट गर्नु आफैंमा गाह्रो काम थियो । तर छनौटमा परेका पाँच पुस्तकका माध्यमबाट लेखकले आख्यान लेखनमा हस्तक्षेपकारी उपस्थिति देखाएका छन् । यसमध्येबाट पनि सर्वोत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्ने कुरामा साहित्यपोस्ट प्रतिबद्ध छ ।”

पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । ती तीन विधाका तीन कृतिहरूमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।