‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०७९’को छोटो सूची सार्वजनिक गरिएको छ । आख्यान लेखेर नेपाली साहित्यमा पदार्पण गरेका लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने पुरस्कारका लागि छोटो सूची जारी गरिएको हो । यो सूचीमा पहिलो कृतिका रूपमा आख्यान लेखेका पाँच लेखक समावेश छन् ।
पुरस्कारको छोटो सूचीमा हरिबोल काफ्ले पहिलो उपन्यास ‘यशोधरा’ पर्न सफल भएको छ ।
आर्थिक विकास तथा अर्थ–राजनीतिक क्षेत्रको अध्ययन तथा अनुसन्धानमा सक्रिय काफ्लेको उपन्यासले गौतम बुद्धकी पत्नी, ऐतिहासिक पात्र यशोधरा जीवन चरित्र उजागर गर्दै उनकै दृष्टिबाट तत्कालीन समयको कथा कहेको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्राका क्रममा यशोधराले गर्नुपरेको त्याग–तपस्या उपन्यासको कथानकको केन्द्रमा छ । उपन्यासमा तत्कालीन समाज, समाजिक प्रचलन र विविधता आदिलाई सचित्र उतारिएको छ ।
२ सय ८६ पृष्ठमा बुनिएको उपन्यासलाई लिपि बुक्सले प्रकाशनमा ल्याएको हो ।
पुरस्कारको छोटो सूचीमा हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’सँगै विष्णु ढकालको उपन्यास ‘जौवा’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’, खगेन्द्र भट्टराईको कथासङ्ग्रह ‘अँध्यारो कुनो’ र बिक्रम भक्त जोशीको निकथासङ्ग्रह ‘चोभार ब्लुज’ रहेका छन् ।
यसअघि ०७९ सालमा प्रकाशित डेब्यु लेखकका ४४ आख्यान कृतिहरूबाट १२ कृतिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच आख्यान कृतिको छोटो सूची तिनै १२ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिका सर्जकहरूले आख्यान लेखनमा राम्रो सम्भावना देखाएको बताएका छन् । उनले भनेका छन्, ”१२ आख्यान विधाका पुस्तकको लामो सूचीबाट ५ पुस्तकको छनौट गर्नु आफैंमा गाह्रो काम थियो । तर छनौटमा परेका पाँच पुस्तकका माध्यमबाट लेखकले आख्यान लेखनमा हस्तक्षेपकारी उपस्थिति देखाएका छन् । यसमध्येबाट पनि सर्वोत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्ने कुरामा साहित्यपोस्ट प्रतिबद्ध छ ।”
पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । ती तीन विधाका तीन कृतिहरूमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।