काठमाडौँ / दमकका कथाकार जयराज भट्टराईको पहिलो कथा संग्रह ‘फ्राइडे कन्फ्युजन’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ ।
आख्यानकार ध्रुवचन्द्र गौतम, साहित्यकार अभि सुवेदी, कलाकारहरू संगीता उराँव र पवित्रा खड्काले शिल्पी थिएटरमा आयोजित कार्यक्रममा संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो ।
पत्रपत्रिकाहरूमा कथा लेख्दै आउनु भएका भट्टराईले विभिन्न समयमा लेखेका कथा र नयाँ कथाहरूलाई मिलाएर कृतिको रुप दिनुभएको हो ।
पुस्तकको लोकार्पण गर्दै आख्यानकार ध्रुवचन्द्र गौतमले नयाँ पुस्तामा लेखन कर्म खस्किइरहेको अवस्थामा नयाँ कथाकारहरू आउनु धेरै राम्रो भएको बताउनुभयो । उहाँले भट्टराईको कथा कृतिको लेखनीबारे चर्चा गर्दै राम्रो कथाकारको रुपमा उदय भएको उल्लेख गर्नुभयो ।
कथा संग्रहमा भूमिका समेत लेखेका गौतमले भन्नुभयो, ‘नयाँ कथाकारहरूमा यत्तिको सम्भावनायुक्त लेखन भएका व्यक्ति कमै भेटिन्छन् त्यसैले आगामी दिनमा अझ राम्रो कृति आउने सम्भावना छ ।’
अर्का साहित्यकार अभि सुवेदीले भट्टराईले कथा संग्रहमा राखेका ६ वटा कथाहरू खाडी मुलुकमा नेपालीहरू बाँचिरहेको जीवनसँग सम्बन्धित रहेकाले त्यहाँको भोगाइबारे आफू परिचित रहेको बताउनुभयो । उहाँले मरुभूमि कथा लेख्नेहरूका लागि उर्वरभूमि भएको टिप्पणी गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।