काठमाडौँ, जेठ ६ / कवि राजेश ढुंगानाको कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा सर्वनाम नाटकघरमा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच सो कृतिको परिचर्चा गरिएको हो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको कार्यक्रममा नाटककार अशेष मल्ल, प्रा.डा. कुमार कोइराला, प्रा.डा. सावित्री मल्ल कक्षपति, साहित्यकार प्रमोद प्रधान लगायतले कृतिमाथि विस्तृत चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रा.डा. सावित्री मल्ल कक्षपतिले कुनै पनि कविका सबै रचना उत्कृष्ट नहुने बताउँदै कवि ढुंगानाका पनि केही कविता उत्कृष्ट रहेको बताउनुभयो । २०७० सालमा प्रकाशित कृतिको परिचर्चा अहिले किन ? भन्ने प्रश्न उत्पन्न भए पनि दोस्रो संस्करणको रुपमा यो कृति आएको र समय सान्दर्भिक भएकाले चर्चा गर्नु उपयुक्त हुने उहाँको टिप्पणी थियो । साथै, उहाँले ढुंगाना विरोचित भएर अर्को नयाँ कवितासंग्रह लिएर आउनु पर्ने उहाँको धारणा थियो । स्वास्थ्य र विविध कारणले कवि ढुंगाना ओझेलमा परे पनि तीसको दशकका कविहरूको हाराहारीमा उहाँ रहनुभएको टिप्पणी गर्नुभयो ।
साहित्यकार प्रमोद प्रधानले कृतिको चर्चा गर्दै कवि ढुंगानालाई ३६ साल, ४६ साल र त्यसपछिको राजनीतिक परिवर्तनले कवि बनाएको उल्लेख गर्नुभयो। ढुंगानाका अधिकांश कविता राजनीतिक चेत बोकेका उहाँको धारणा थियो । ‘कृतिमा विशेष गरी राजनीतिक विचारलाई कलात्मक आवरणले बरेर प्रस्तुत भएका कविता छन्,’ उहाँले भन्नुभयो । राजेश ढुंगाना कवि, राजनीतिक व्यक्तित्व मात्रै नभएर पत्रकार व्यक्तित्व पनि रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाली कविताको जगतमा पुनःप्रवेशको लागि उनले ढुंगानालाई स्वागत पनि गर्नुभयो ।
प्रा.डा. कुमार कोइरालाले कविता बाहिरबाट भित्र हेरेर र भित्रबाट बाहिर हेरेर लेखिने बताउँदै ढुंगानाका कविता दुवै खाले रहेको उल्लेख गर्नुभयो । राजनीतिक विषयका अधिकांश कविताले विभिन्न घटनाक्रमको व्याख्या गरेको पनि उहाँले बताउनुभयो । नेपालीको वीरताको कथा, आशा र उन्नतिको कुरा पनि कवितामा समेटिएको उहाँले टिप्पणी गर्नुभयो । केही कविता प्रेम र हाँस्य विधाका पनि रहेको उहाँले बताउनुभयो ।
मित्रका रुपमा लामो समय संगत गरेका नाटककार अशेष मल्लले नेपाली साहित्यले राजेश ढुंगानालाई बिर्सिएको उल्लेख गर्नुभयो । बीस वर्ष काठमाडौँ छाड्दा नेपाली साहित्यबाट टाढा पुगेको देखिएको उहाँले बताउनुभयो । राजेशमा कवि व्यक्तित्व र राजनीतिक व्यक्तित्व रहेको उल्लेख गर्दै राजनीतिमा पनि सक्रियता सशक्त रहेको उहाँले बताउनुभयो । कवि ढुंगानाले २०४६ सालको जनआन्दोलनमा साहित्यकारको रुपमा सक्रिय भूमिका निर्वाह गरेको उहाँले स्मरण गराउनुभयो ।
कार्यक्रममा कवि राजेश ढुंगानाले पाँचवटा कविता वाचन गरेर सुनाउनुभएको थियो । कवि पत्नी मीरा ढुंगानाले कृतिकै रुपमा प्रकाशित नभए पनि धेरै कविता लेखिएको र चाँडै नयाँ कृति आउने पनि जानकारी दिनुभयो ।
कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष तथा परिचर्चा कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कृति प्रकाशित भएको दस वर्षपछि पनि नेपाल स्रष्टा समाजलाई सम्झेर परिचर्चा कार्यक्रम आयोजना गर्ने मौका दिएकोमा धन्यवाद दिनुभयो । बीस वर्षअघि यही सभाहलमा हामी कवितामा उभिएका कवि ढुंगानाको कृतिको चर्चा पुनः सोही हलमा गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । यति सशक्त कवि यति लामो समयसम्म हराउनु उहाँलाई मात्रै घाटा होइन, नेपाली साहित्यलाई नै घाटा रहेको टिप्पणी उहाँले गर्नुभयो । ‘हिजोको राजेश ढुंगाना बनेर अब पनि आउनु पर्ने’ भन्दै सबैका तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।
परिचर्चा कार्यक्रम समाजका कोषाध्यक्ष देविका तिम्सिनाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमका सहभागीहरुलाई रञ्जना निरौलाले स्वागत गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।