अभिव्यक्ति साहित्यिक मासिक पत्रिकाले हरेक महिनाको पहिलो विहीबार आयोजना गर्ने साहित्यिक भेलामा हिजो बिहीबार गरेको स्रष्टाहरूको नियमित भेलामा नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई अपमान गर्ने, होच्याउने लगायतका भाषिक वितृष्णा फैलाउने कार्य गरिरहेकोमा कडा शब्दमा प्रतिरोध गरेको छ ।

आफूहरूले नेपालका सबै भाषा, संस्कृति तथा सर्जकहरूको सम्मान गर्ने भन्दै नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा भएको बताउँदै संवैधानिक प्रावधान, नेपाली‑नेपाली बीचको भाषिक, सांस्कृतिक सहिष्णुताप्रति प्रतिबद्ध रहेको भेलाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली भाषालाई अपमान गर्ने, होच्याउने, राष्ट्रभाषा नभन्ने र भाषिक वितृष्णा फैलाउने कुत्सित कार्य गरिरहेकाप्रति भेलाले असहमति जनाएको छ ।

प्रचलित संविधान र कानूनको परिधिमा रही जिम्मेवारीका साथ प्रस्तुत हुन नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वमा रहेका सबैलाई आग्रह पनि गरेको छ।

आग्रहमा हस्ताक्षर गर्ने लेखक कविहरूमा शंकर शाह, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, बासुदेव गुरागाईं, देविका तिमिल्सिना, विनोद नेपाल, जयबहादुर घिमिरे, मणिकुमार पोखरेल, रेहित सैंजु, शंकर भारती, ज्ञाननिष्ठ ज्ञवाली, रामप्रसाद पन्त, राजेशमान केसी, त्रिभुवनचन्द्र वाग्ले, सुभाषचन्द्र पौडेल, विष्णुप्रसाद शर्मा पराजुली, शंकरकुमार राई, विष्णुबहादुर सिंह रहनु भएको छ ।