काठमाडौं / प्रकाशन गृह कोपिला किताबले ५ बालपुस्तक एकसाथ लोकार्पण गरेको छ । ‘टेल्स एन्ड लाइज’ शृङ्खलाअन्तर्गत विभिन्न लेखकले लेखेका ५ बालपुस्तक (बेखामान र राक्षस, साङ्केनको खुलदुली, अन्नको बखान, कपासको घोडा र जन्तरमन्तर) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा बुधबार आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरियो ।
ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले छुट्टाछुट्टै पुस्तक लोकार्पण गर्नुभयो ।
कार्यक्रममा कथावाचक समाजका अध्यक्ष प्रा.डा. घिमिरेले कथाका लागि नेपाल समृद्ध देश रहेको बताउनुभयो । यहाँ कथाका लागि अनगन्ती विषय रहेको र कोपिला किताबले ल्याएका यी पुस्तकले बालबालिकालाई किंवदन्तीदेखि नवीन विषयवस्तुसमेत प्रस्तुत गरेको उहाँको भनाइ थियो । चित्रमा माध्यमबाट प्रस्ट गरिएको विषयलाई शब्दको गाम्भीर्यले थप प्रभावकारी बनाएको उहाँले जनाउनुभयो ।
कार्यक्रममा कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजले बालसाहित्यको क्षेत्रमा कोपिला किताबले छोटो समयमा प्रभावकारी काम गरेको बताउनुभयो। यसले प्रकाशन गरेका पुस्तक अन्तर्राष्ट्रिय स्तरको रहेको र नेपाली बालसाहित्यले नयाँ फड्को मारेको यसले प्रस्ट्याएको उहाँको भनाइ थियो ।
अक्षर मात्र भएको पुस्तक सबैलाई मन नपर्न सक्छ, तर चित्रसहितको पुस्तकले सबैलाई आकर्षित गर्ने उहाँले जनाउनुभयो । यही विषयलाई बुझेर कोपिला किताबले बालबालिकाका लागि बहुउपयोगी पुस्तक प्रकाशन गरेको उहाँले सो अवसरमा बताउनुभयो ।
बालबालिकालाई विशेषगरी पुस्तकले मनोरञ्जन दिनुपर्ने नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले जनाउनुभयो । जब पुस्तकका पंक्तिले बालबालिकालाई तान्छ, त्यसपछि उनीहरू पुस्तक पढ्न आकर्षित हुन्छन्, त्यसैले बालपुस्तक सुरुमा मनोरञ्जनात्मक हुनुपर्ने उहाँको टिप्पणी थियो । कोपिला किताबले प्रकाशन गरेका यी पुस्तक मनोरञ्जनात्मकसँगै ज्ञानमूलक पनि रहेको उहाँले जनाउनुभयो ।
जबसम्म बालबालिकालाई पठन संस्कृतिमा ढाल्न सक्दैनौं, तबसम्म साहित्यका पाठक बढाउन सकिन्न । त्यसैले बालबालिकालाई उपयोगी हुने किसिमले आएका यी पुस्तकले साहित्यका पाठक बढाउन सकिने गरी बालबालिकालाई आकर्षित गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुकले बालसाहित्यका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । उहाँले बालसाहित्यका विविध विषयमा प्रकाश पार्नुभएसँगै कोपिला किताबले प्रकाशन गरेका बाल पुस्तक अन्तर्राष्ट्रिय स्तरका भएको बताउनुभयो ।
कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छालीले कोपिला किताबले ल्याएका पुस्तकले नेपाली बालसाहित्यको आयाममा नयाँपन थपेको दाबी गर्नुभयो । शब्द र चित्रका माध्यमबाट प्रदान गरिएको ज्ञान बालबालिकाका लागि बहुउपयोगी हुने र त्यो अवसर कोपिला किताबले दिएको उहाँको भनाइ छ ।
‘बेखामान र राक्षस’ पुस्तक विक्रम भक्त जोशीले लेख्नुभएको हो । यसमा चित्रकार शोभितमान बनियाले चित्राङ्कन गर्नुभएको छ । यस्तै अर्को बालपुस्तक ‘जन्तर मन्तर’की लेखक बिन्दु शर्मा हुनुहुन्छ । उहाँको लेखनमा चित्रकार एलिना छन्तेलको चित्राङ्कन गर्नुभएको छ । साथै ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेख्नुभएको हो भने चित्रकार प्रकाश रञ्जितले चित्राङ्कन गर्नुभएको छ ।
यसैगरी अर्को बालपुस्तक ‘अन्नको बखान’को लेखन भने जितेन्द्र बस्नेतले गर्नुभएको हो । यसमा चित्रकार सुमन महर्जनले चित्राङ्कन गर्नुभएको छ । ‘साङ्केनको खुलदुली’लाई भने लेखक सृजना राईले लेख्नुभएको हो भने चित्रकार सुरज राईले चित्राङ्कन गर्नुभएको छ ।
सबै पुस्तकको सम्पादन बाल कथाकार अनुराधाले गर्नुभएको हो ।
बालबालिकाहरूको मनोविज्ञान बुझेर र त्यस्तो मनोविज्ञानलाई चित्र अनि सरल भाषामार्फत बुझाइएको पुस्तक ल्याउनुपर्छ भन्ने मनसायले आफ्नो प्रकाशन गृहले यी बालपुस्तक ल्याएको कोपिला किताबका अध्यक्ष भानु भट्टराईले बताउनुभयो । ‘बालबालिकाका लागि सबै किसिमबाट उत्कृष्ट पुस्तक प्रकाशन गरौं भन्ने हाम्रो चाहना हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले यी पुस्तकमा बालबालिकाको उमेरअनुसारको भाषा र चित्र समेटेका छौं । उनीहरूले चित्र मात्र हेरेर पनि कथा बुझून् भन्ने उद्देश्य राखेर पुस्तक प्रकाशनमा ल्याएका छौं ।’
बालसाहित्यकार कृष्णदीप सिग्देलले सञ्चालन गरेको कार्यक्रममा उहाँले बालसाहित्यका विविध पक्षमाथि आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा लेखकहरूले समेत आआफ्ना लेखन अनुभूति साट्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।