गान्तोक, मई १६/ गान्तोकस्थित सिक्किममा राजतन्त्रदेखि प्रजातन्त्रसम्मको अवस्थाका साक्षी पद्मश्री सानु लामाकृत पुस्तक ‘दुख्नु उत्तिकै छ’ भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाको तत्वावधानमा सर्जककै निजी वासस्थानमा विधिपूर्वक लोकार्पण गरियो।

उक्त पुस्तक लोकार्पण कार्यक्रममा भागोप, सिक्किम शाखा अध्यक्ष एवं साहित्यकार चुनिलाल घिमिरे, वरिष्ठ साहित्यकार एवं सामयिक पत्रिका सिद्धिका सम्पादक प्रद्युम्न श्रेष्ठ, हाम्रो आवाज पत्रिकाका सम्पादक तथा वरिष्ठ पत्रकार एवं भागोपका उपाध्यक्ष अमर कटुवाल, साहित्यसेवी एवं भागोप सल्लाहकार प्रताप प्रधान, साहित्य अकादमीद्वारा प्रदान गरिने बाल पुरस्कार विजेता एवं बाल-दर्पणका सम्पादक भीम प्रधान, ‘दुख्नु उत्तिकै छ’ पुस्तकका रचयिता सानु लामा लगायत साहित्यकार अर्जुन पीयूषको विशेष उपस्थिति रहेको थियो।

भागोप अध्यक्ष चुनिलाल घिमिरेको अभिमत अनुसार भारतीय गोर्खा परिसंघको तत्वावधानमा यसरी पद्मश्री सम्मानले सम्मानित एवं एक जीवन्त धरोहर सानु लामाको पुस्तक विमोचन हुनु भनेको आफैँ एक गर्विलो इतिहासको घड़ेरी निर्माण गरेजत्तिकै हो। सानु लामा नेपाली जाति र भाषाका एक अभिभावक भएको बताउँदै उनको पुस्तकले भाषा र जातिलाई अझ समृद्धशाली बनाएको आफूले अनुभव गरेको कुरा बताएका छन्।

कार्यक्रममा उपस्थित रहेका प्राय महानुभावहरूले आ-आफ्ना मतहरू प्रकट गरेका थिए। यसरी नै सर्जक सानु लामाले यसरी आफ्नो पुस्तक भागोपको तत्वावधानमा लोकार्पण हुनुलाई आफ्ना लागि हर्षको विषय रहेको बताएका छन्। अन्त्यमा चिया चमेनाका साथ कार्यक्रम अन्त्य भयो।